बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

अल्पायुमै अस्ताए प्रशान्त तामाङ, जन्मथलो दार्जिलिङमा सम्मानसहित अन्त्येष्टि गरिने

सोमबार, पुष २८ २०८२

काठमाडौँ । सन् २००७ मा भारतीय चर्चित रियालिटी शो इन्डियन आइडल को तेस्रो सिजन जित्दै विश्वभरका नेपालीमाझ चिनिएका गायक तथा अभिनेता प्रशान्त तामाङको आइतबार ४२ वर्षको उमेरमा हृदयघातका कारण निधन भएको छ। उनको निधनको खबरले दार्जिलिङसहित संसारभर रहेका नेपालीभाषी समुदाय शोकमा डुबेको छ।

आइतबार बिहानै आएको दुःखद खबरसँगै नेपालीभाषीले भारतीय टेलिभिजनमा सहभागिता जनाउन मात्र होइन, विजेता बन्न पनि सक्छन् भन्ने उदाहरण बनेका तामाङको योगदान स्मरण गरिएको छ। उनको ऐतिहासिक जितपछि भारतीय टेलिभिजन कार्यक्रममा नेपालीभाषीको सहभागिता निरन्तर बढ्दै आएको छ।

इन्डियन आइडलको उत्कृष्ट १० मा प्रवेश गरेपछि नेपाल र दार्जिलिङमा ‘प्रशान्त तामाङ जिताउ अभियान’ नै सञ्चालन भएको थियो। सो अभियानमा गीतकार तथा चलचित्र निर्माता राजेश घतानीसहित विभिन्न क्षेत्रका व्यक्तित्व सक्रिय थिए। घतानीका अनुसार दार्जिलिङ पुगेर कार्यक्रम आयोजना गरी संकलित रकम तामाङलाई विजेता बनाउन खर्च गरिएको थियो।

आइडल विजेता बनेपछि तामाङ नेपाली चलचित्र हिम्मत–२ मार्फत नेपाली फिल्म क्षेत्रमा प्रवेश गर्नुभयो। निर्देशक दीपक श्रेष्ठले उहाँको सरलता, विनम्रता र नेपाली गीतसंगीतप्रतिको गहिरो प्रेमलाई सधैँ सम्झनलायक भएको बताए । त्यसपछि उनी गोर्खा पल्टन चलचित्रमा लाहुरेको भूमिकामा देखिए, जसको गीत ‘जाउँला रेलैमा सरर, गोर्खा पल्टन’ अत्यन्त लोकप्रिय बन्यो।

उनले अँगालो यो मायाको, किन मायामा, धड्कन भित्र, निशानी, परदेशी, परदेशी–२ लगायतका चलचित्रमा अभिनय गरे। गत ५ मङ्सिरमा प्रदर्शन भएको पहिचानको लडाइँ उनको अन्तिम नेपाली चलचित्र रह्यो।

अभिनयमा आफूलाई स्थापित गर्दै गएका तामाङ ओटीटी प्लेटफर्म अमेजन प्राइम भिडियोको चर्चित श्रृङ्खला पाताल लोक मार्फत भारतमा पनि चर्चामा आए। त्यसपछि उनी भारतीय अभिनेता सलमान खानको चलचित्र ब्याटल अफ गलवान मा समेत देखिए। उक्त चलचित्र आगामी वैशाख ४ मा प्रदर्शन हुने तयारीमा छ।

दिल्लीमा चलचित्रको कामकै क्रममा रहेका तामाङको त्यहीँ निधन भयो। कोभिड–१९ का कारण आमाको निधन भएपछि उनी परिवारप्रति अझ समर्पित बनेका थिए। तीन वर्षीया छोरीको हेरचाह र परिवारलाई समय दिनुलाई उनीले प्राथमिकता दिन्थे। सन् २०११ मा एयरहोस्टेस गीता थापासँग विवाह गरेका तामाङको सन् २०२२ मा छोरी जन्मिएकी थिइन्।

उनको पार्थिव शरीर जन्मथलो दार्जिलिङमा सम्मानसहित अन्त्येष्टि गरिने भएको छ। दिल्लीको हरिनगरस्थित दिनदयाल अस्पतालमा शवपरीक्षण भइरहेको र जीटिए सरकारले शव दार्जिलिङ लैजाने तयारी गरेको जनाएको छ।

नेपाली भाषाको गीतसंगीत र अभिनयमार्फत विश्वभरका नेपालीलाई जोड्न सफल प्रशान्त तामाङ सधैँ नेपाली मन–मनमा जीवित रहनेछन्।