चितवन । तनहुँको आँबुखैरहनी गाउँपालिका–५, द्वोन्द्राङ बेँसीस्थित त्रिशूली किनारमा बसको अवशेष फेला परेको छ।
भरतपुर महानगरपालिका–२९, सिमलतालमा गत वर्ष बेपत्ता भएका दुई बसमध्ये एउटा हुनसक्ने आशङ्का गरिएको छ। बस बेपत्ता भएको स्थानबाट करिब २०० मिटर पर अवशेष फेला परेको हो।
इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक प्रतीक सिंहका अनुसार माछा मार्ने क्रममा जाल अड्किँदा स्थानीयले अवशेष खोतलेर देख्दा बसजस्तो देखेपछि प्रहरीलाई खबर गरेका थिए। अवशेष बालुवामा पुरिएको अवस्थामा भेटिएपछि हाल खन्ने काम भइरहेको छ। प्रहरी निरीक्षक सिंहका अनुसार निलो रङको बस देखिएको छ, जुन सिमलतालमा हराएको गणपति बसको रङसँग मिल्दोजुल्दो छ। यद्यपि बस निकालिएपछि मात्र निश्चित रूपमा भन्न सकिने बताए।
विसं २०८१ असार २८ मा नारायणगढ–मुग्लिन सडकखण्डको सिमलतालमा पहिरोका कारण दुई बस त्रिशूलीमा बेपत्ता भएका थिए। ती बसहरू बागमती प्रदेश–०३–००१ ख २४९५ नम्बरको ‘गणपति’ र बागमती प्रदेश–०३–००६ ख १५१६ नम्बरको ‘एञ्जल डिलक्स’ हुन्। दुई बसमा सवार ६५ जनामध्ये ११ जनाको शव फेला परेको थियो भने तीन जना घाइते भएका थिए। घटनामा ५१ जना अझै बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रविन्द्र खनालले बताए