शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

कांग्रेस विशेष महाधिवेशन सुरु

आइतबार, पुष २७ २०८२

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्रीद्वयको अगुवाइमा आजदेखि काठमाडौँको भृकुटीमण्डपमा भइरहेको विशेष महाधिवेशनमा भाग लिन आउने प्रतिनिधिहरूको नाम दर्ता प्रक्रिया सुरु भएको छ।

विशेष महाधिवेशन पक्षधर समूहको आयोजनामा दुईदिने महाधिवेशनको पहिलो दिन आज आठ वटा ‘स्टल’बाट नाम दर्ता सुरु गरिएको छ। बिहान ८ बजेदेखि सुरु गर्ने भनिएको दर्ता प्रक्रिया ९ बजेदेखि मात्रै सुरु भएको थियो।

विशेष महाधिवेशनका जिल्ला क्षेत्र र ‘फोकल पर्सन’ समन्वय समितिका संयोजक युवराज पाण्डेयका अनुसार दिउँसो १२ः४५ बजेसम्ममा १ हजार २१५ जनाको नाम दर्ता भइसकेको छ।

कांग्रेसले कर्णाली र सुदूरपश्चिमका लागि एक स्टल, विदेशस्थित जनसम्पर्क समिति, भ्रातृ संस्था र शुभेच्छुक संस्थाका लागि एक स्टल, उपत्यकाभित्र काठमाडौँ, भक्तपुर र ललितपुरका लागि एक स्टल, र बाँकी पाँच प्रदेशका लागि छुट्टाछुट्टै स्टलको व्यवस्था गरेको छ। वर्तमानमा पार्टीमा देशभर ४ हजार ७४३ महाधिवेशन प्रतिनिधि रहेका छन्।

महाधिवेशन उद्घाटन सुरु हुनुअघि सहभागीले काठमाडौँका विभिन्न छ स्थानबाट जुलुस निकाल्ने तयारी गरेका छन्। महाधिवेशन आयोजक समितिका अनुसार आज दिउँसो १ बजे भृकुटीमण्डपमा उद्घाटन सत्र सुरु हुनेछ। संयोजक पाण्डेयका अनुसार उद्घाटन सत्रपछि भृकुटीमण्डपको सभाहलमा बन्दसत्र सञ्चालन हुनेछ।