काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले स–साना राज्यमा छरिएर रहेको नेपाल आजको अवस्थामा आइपुग्न हाम्रा धेरै पूर्वजहरूले पुर्याएको योगदान अत्यन्तै महत्त्वपूर्ण रहेको बताएका छन्।
पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा जारी गरेकाे शुभकामना सन्देशमा राष्ट्रपति पौडेलले पृथ्वीनारायण शाहले टुक्राटुक्रामा विभाजित राज्यहरूलाई एकीकरण गरी आधुनिक नेपाल राष्ट्रको निर्माण गरेको स्पष्ट पारे ।
“पृथ्वीनारायण शाहलाई सम्झँदा उहाँले नेपालको एकीकरण गर्दै राष्ट्रिय स्वाधीनता र आधुनिक नेपालको साझा पहिचान स्थापित गर्नुभएको देखिन्छ। उहाँका दिव्योपदेश आज पनि उत्तिकै लोकप्रिय र सान्दर्भिक छन्।” उनले सन्देशमा उल्लेख गरेका छन् ।
राष्ट्रपति पौडेलले मुलुकको सुदृढ अर्थतन्त्र निर्माण, राष्ट्रप्रेमको विकास, छिमेकी राष्ट्रहरूसँग सन्तुलित कूटनीतिक सम्बन्ध, धर्म, संस्कृति र परम्पराको संरक्षण, जनकल्याण र राज्यको दायित्व, न्याय र सुशासन तथा राष्ट्रिय एकताको प्रवर्द्धनका लागि पृथ्वीनारायण शाहका दिव्योपदेश मार्गदर्शक बन्न सक्ने उल्लेख गरे ।
उनले राष्ट्र निर्माणको अभियानलाई इतिहासका विभिन्न कालखण्डमा वीर पुर्खाहरूले निरन्तरता दिएको कारण आज हामी सार्वभौम र स्वतन्त्र नेपालप्रति गर्व गर्न सक्ने अवस्थामा पुगेको बताए ।
यसै आधारभूमिमा टेकेर नेपाललाई स्वतन्त्र, अविभाज्य, सार्वभौमसत्ता सम्पन्न, धर्मनिरपेक्ष, समावेशी, लोकतन्त्रमा आधारित समाजवादउन्मुख सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्यका रूपमा संवैधानिक व्यवस्था गरिएको राष्ट्रपति पौडेलको भनाइ छ।
“राष्ट्रिय एकता दिवसले मुलुकको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता र राष्ट्रिय एकतालाई अक्षुण्ण राख्दै जनताको सुख र समृद्धि हासिल गर्न सबैमा प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्दछु।” राष्ट्रपति पौडेलले भनेका छन् ।
नेपाल एकीकरण अभियानका नेतृत्वकर्ता पृथ्वीनारायण शाहको ३०४औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा उहाँप्रति हार्दिक श्रद्धासुमन अर्पण गर्दै राष्ट्रपति पौडेलले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामना व्यक्त गरेका छन् ।
य