काठमाडौँ । आज ३०४औँ पृथ्वी जयन्ती। नेपाल एकीकरणका प्रणेता पृथ्वीनारायण शाहको स्मृति दिवस देशभर राष्ट्रिय एकता दिवसका रूपमा मनाइँदैछ। यस अवसरमा नेपालभर विविध कार्यक्रम आयोजना गरी पृथ्वीनारायण शाहको योगदानको स्मरण गरिएको छ।
यसै सन्दर्भमा इतिहासकार, वरिष्ठ कवि तथा सर्जकहरूले पृथ्वीनारायण शाहलाई फरक तर सिर्जनात्मक शैलीमा स्मरण गरेका छन्।
सर्जकहरू पृथ्वीनारायण शाहले नेपाल एकीकरण अभियान सुरु गर्ने क्रममा महत्त्वपूर्ण योजना बनाएको ऐतिहासिक स्थल काठमाडौंको चन्द्रागिरि डाँडामा पुगेर त्यहाँ निर्माण गरिएको उनको सालिक सामु राष्ट्रियता, एकता र देशप्रेमसँग जोडिएका सृजना प्रस्तुत गर्दै श्रद्धाञ्जली अर्पण गरेका हुन्।
शनिबार थर्डपोल ग्रुपद्वारा चन्द्रागिरिस्थित पृथ्वीनारायण शाहको सालिक परिसरमा आयोजित कार्यक्रममा इतिहासकार प्रा. डा. दिनेशराज पन्तले पृथ्वीनारायण शाहले यही डाँडाबाट काठमाडौं उपत्यकाको सुन्दरता अवलोकन गरेपछि कीर्तिपुरसहित काठमाडौं खाल्डोलाई गोरखा राज्यअन्तर्गत एकीकरण गर्ने योजना बनाएको ऐतिहासिक प्रसङ्ग प्रस्तुत गरे ।
चन्द्रागिरि डाँडालाई नेपाल एकीकरण अभियानसँग जोडिएको एक महत्त्वपूर्ण ऐतिहासिक स्थलका रूपमा उल्लेख गर्दै उनले पृथ्वीनारायण शाहलाई नेपाल र नेपालीको पहिचान दिलाउने वीर योद्धा तथा राष्ट्रनिर्माताका रूपमा स्मरण गरे ।
कार्यक्रममा वरिष्ठ कवि तथा गीतकार एसपी कोइरालाले ‘चिरेर हेर यो मेरो छाती’ शीर्षकको कविता वाचन गर्दै लेखे—
चिरेर हेर यो मेरो छाती झण्डाले बनेको ।
उठेर हेर अलिक माथि माटोले भनेको ।।
उनले पुर्खाले देशका लागि गरेको त्याग र योगदानको स्मरण गर्दै वर्तमान पुस्ताले पनि भोलिका पुस्ताका लागि केही गरेर नाम राख्नुपर्ने आवश्यकता औँल्याए ।
वरिष्ठ कवि तथा गीतकार दिनेश अधिकारीले तराई, पहाड र हिमाललाई एकअर्कासँग जोडेर नेपाली समाजको एकताको भाव आफ्नो कवितामार्फत यसरी व्यक्त गरे—
तराई हो अन्नबाली पहाड हो पानी ।
अन्न पानीजस्तै मिली बाँच्नुपर्छ हामी ।।
पृथ्वीनारायण शाहले नेपाली भूभागको एकीकरण गरी सबै नेपालीलाई भावनात्मक एकताको सूत्रमा बाँधेको प्रसङ्ग उहाँका कवितामा अभिव्यक्त भएको थियो। देशप्रेमका भाव उहाँले यसरी प्रस्तुत गरे—
सक्छौ त माया गर यो देशलाई ।
सक्दैनौ बिन्ती गाली नगरिदेऊ ।।
यसैगरी वरिष्ठ कवि डा. राजुबाबु श्रेष्ठले आफ्नो कवितामार्फत पृथ्वीनारायण शाहको योगदान स्मरण गर्दै नेपालको सार्वभौम पहिचान निर्माणको इतिहास प्रस्तुत गरे। तर उनै राष्ट्रनिर्माताको सालिक ढाल्न खोजिएकोप्रति कवि श्रेष्ठले दुःखसमेत व्यक्त गरे।
कवि मणि लोहनीले ‘मानचित्रमा उभिएर’ शीर्षकको कवितामा मन्दिर, गुम्बा, मस्जिद र चर्च सबै नेपालीका साझा आस्थाका केन्द्र भएको उल्लेख गर्दै पृथ्वीनारायण शाहले भनेझैँ नेपाल ‘चार जात छत्तीस वर्णको फूलबारी’ भएको काव्य भाव प्रस्तुत गरे।
कार्यक्रममा कवि हेम प्रभास, नारायण निराशी, एलिसा ढुङ्गाना, प्रभाती किरण, प्रधुम्न जोशी, कृष्ण बञ्जाडे, दिनेश परियार र अनिता कोइरालालगायत सर्जकहरूले पनि राष्ट्रप्रेम, राष्ट्रियता, वर्तमान राजनीतिक अवस्था र सामाजिक विसङ्गतिमाथि केन्द्रित रचनाहरू वाचन गरेका थिए ।
सर्जकहरूले चार किल्ला तोडेर सुनौला सपना देख्ने र सयौँ फूल जोडेर राष्ट्रिय एकताको माला उन्ने वीर पुरुषका रूपमा पृथ्वीनारायण शाहलाई स्मरण गर्दै नेपाललाई धर्तीकै स्वर्गसरह देशका रूपमा चित्रण गरेका थिए।
कार्यक्रममा चन्द्रागिरि हिल्सका कम्पनी सचिव झलक शर्मा पौडेलले देशका विभिन्न स्थानमा सालिक ढालिने क्रम बढिरहेको सन्दर्भमा नेपाल एकीकरणको इतिहाससँग गहिरो सम्बन्ध रहेको चन्द्रागिरि डाँडामा पृथ्वीनारायण शाहको सालिक निर्माण गरिएको स्मरण गराउँदै यसको ऐतिहासिक महत्वबारे चर्चा गरे ।
चन्द्रागिरि डाँडामा निर्माण गरिएको पृथ्वीनारायण शाहको सालिक परिसरमा हरेक वर्ष राष्ट्रिय एकता दिवसका अवसरमा यस्ता सिर्जनात्मक तथा स्मरणात्मक कार्यक्रम आयोजना हुँदै आएका छन्।