आजको नेपालमा उभिएर जब हामी देशको अवस्था हेर्छौँ, तब प्रश्न धेरै उब्जिन्छन् तर उत्तर कम सुनिन्छन्। बाटोमा हिँड्ने नागरिकदेखि सिंहदरबारमा बस्ने सत्तासीनसम्म, सबैको मुखमा एउटै वाक्य सुनिन्छ।“देश बिग्रियो।” तर विडम्बना के छ भने, “देश बिग्रिनुमा मेरो पनि भूमिका छ” भन्ने स्वीकारोक्ति सुन्न अत्यन्तै गाह्रो छ।यातायात अव्यवस्थित भयो भने चालक दोषी, कार्यालय मा काम ढिलो भयो भने कर्मचारी दोषी, नीति असफल भयो भने राजनीति दोषी, विकास रोकियो भने नेता दोषी, अनि समग्रमा सबै कुरा बिग्रियो भने “नेपाल नै यस्तो हो” भन्ने निष्कर्षमा हामी पुग्छौँ। दोष थोपर्ने यो संस्कार यति गहिरो छ कि आत्मसमीक्षा गर्ने आँट हामीले गुमाउँदै गएका छौँ।
कोही भन्छन शिक्षा नीति गलत भयो।कोही भन्छन राजनीतिले देश खायो। कोही भन्छन् प्राविधिक कमजोरी हो। कोही भन्छन आसेपासे र कार्यकर्ताले सब बिगारे।तर कोही पनि तयार छैन भन्न “म गलत थिएँ, सच्याउन सक्छु, माफी माग्न सक्छु, प्रायश्चित गर्न सक्छु।” यही हो हाम्रो मूल समस्या नबदलिने सोच। यो समस्या नेपालमै मात्र हो त?
यो प्रश्न गम्भीर छ।
के आत्मआलोचनाबाट भाग्ने, दोष अरूलाई थोपर्ने र आफू सधैँ निर्दोष देख्ने प्रवृत्ति नेपालमै मात्र छ? उत्तर स्पष्ट छ। इतिहास हेर्ने हो भने धेरै देशहरूले यो चरण पार गरेका छन्। तर फरक के छ भने, उनीहरूले एउटा मोडमा आएर सामूहिक आत्मसमीक्षा गरे, हामी भने अझै दोषको घेरामै अल्झिएका छौँ। दक्षिण कोरिया, भियतनाम, बंगलादेशजस्ता देशहरू कुनै समय हामीभन्दा कमजोर थिए। स्रोत कम, संरचना कमजोर, राजनीतिक अस्थिरता उनीहरूमा पनि थियो। तर उनीहरूले एउटा साझा कुरा गरे—दीर्घकालीन सोच र अनुसन्धानमा लगानी।
दीर्घकालीन योजना र रिसर्चको अभाव
नेपालमा विकास योजनाहरू धेरै छन्, तर लेखा–जोखा राख्ने, मूल्यांकन गर्ने र निरन्तर सुधार गर्ने संस्कार छैन। योजना आउँछ, मन्त्री फेरिन्छ, योजना हराउँछ। नयाँ आउँछ, पुरानोको समीक्षा हुँदैन।राज्य सञ्चालनको सबैभन्दा गहिरो र संवेदनशील विषय हो—Research and Development (R&D)। तर हामी यसमा लगानी गर्न कन्जुस्याइँ गर्छौँ। परिणामस्वरूप, न त नीतिहरू प्रमाणमा आधारित हुन्छन्, न त निर्णयहरू भविष्यतर्फ लक्षित।आज हामी गर्व गरेर देखाउन सक्ने एउटा पनि संस्थागत सफलता किन छैन? प्रश्न संस्थामाथि होइन, हाम्रो सोच र प्राथमिकतामाथि हो।देश नेता मात्रै चलाउँदैनन्, नागरिकले पनि चलाउँछन् ! हामी प्रायः भन्छौँ “नेताले देश बिगारे।” यो पूर्ण सत्य होइन, आधा सत्य हो। नेता जनता कै उत्पादन हुन्। जसरी हामी आफैँ नियम मिच्छौँ, कर छल्छौँ, लाइन मिच्छौँ, त्यसरी नै माथिल्लो तहमा पुगेकाहरूले पनि त्यसै गर्छन्।
विधि लथालिङ्ग हुनुको कारण नेताको मात्र हैन, विधि स्वीकार नगर्ने नागरिक संस्कार पनि हो। जबसम्म हरेक नागरिकले “म पनि यो देशको हिस्सेदार हुँ” भन्ने भावनाबाट काम गर्दैन, तबसम्म परिवर्तन सम्भव हुँदैन।प्रश्न गर्ने शक्ति किन ह्रास भयो?
आजको सबैभन्दा खतरनाक अवस्था के हो भने, हामी प्रश्न गर्न डराउन थालेका छौँ। राष्ट्रियता, माटो, भविष्यको चिन्ता मनमा भए पनि मुख खोल्न सक्दैनौँ। कारण—हामीले देशलाई आफ्नो हैन, कसैको निजी कम्पनी जस्तो ठान्न थालेका छौँ।हामी आफूलाई सगरमाथाको स्टेकहोल्डर हैन, सेयर बजारमा बेच्न राखिएको सेयर कित्ताको मालिक मात्र ठान्छौँ। तर देश त्योभन्दा धेरै मूल्यवान सम्पत्ति हो—यो गर्व हो, पहिचान हो, उत्तरदायित्व हो।
अब सोच बदल्ने समय आयो देश बनाउने कुरा भाषणले हुँदैन, नाराले हुँदैन। संकल्प र अठोटले हुन्छ। र त्यो संकल्पको आधार जनता हुन्। यदि जनता बदलिन्छन् भने, राजनीति बदलिन्छ; यदि सोच बदलिन्छ भने, व्यवस्था सुध्रिन्छ।म आजबाट यो सुरुवात गर्छु! दोष खोज्न होइन, भूमिका खोज्न।गाली गर्न होइन, गहिरो प्रश्न गर्न। निराश हुन होइन, सम्भावनाको विगुल फुक्न।
२१औँ शताब्दीमा नेपालीले चेतनाको विगुल फुक्नैपर्छ। यो चेतनाको खडेरीमा, हामी सबैले चेतनाको बाजा बजाउनुपर्छ।
सानो सोच, ठूलो परिवर्तन हुन सक्छ म यहा सानो उदाहरण राख्दछु।
एउटा सानो गाउँमा केही युवाहरूले निर्णय गरे—सरकार कुर्ने होइन, आफूले सक्ने काम गर्ने। उनीहरूले स्थानीय विद्यालय सुधार गरे, सरसफाइ अभियान चलाए, पारदर्शी हिसाब राखे। पाँच वर्षमै त्यो गाउँ उदाहरण बन्यो। सरकार पछि आयो, तर सुरुवात नागरिक चेतनाले गरेको थियो। देश पनि यसरी नै बन्छ—साना संकल्पहरूको ठूलो यात्रा। दल होइन, सोच बदलौँ। नेता होइन, नागरिक जिम्मेवारी बदलौँ। दोष होइन, दिशा खोजौँ। देश राम्रो बन्छ। जब हामी प्रत्येकले भन्न थाल्छौँ, म पनि जिम्मेवार छु, र म नै परिवर्तनको सुरुवात हुँ।”