काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई स्वच्छ, निष्पक्ष र मर्यादित बनाउने उद्देश्यका साथ निर्वाचन आचारसंहिता लागू गर्ने अन्तिम तयारी गरेको छ। आयोगले आगामी माघ ३ गतेदेखि आचारसंहिता लागू गर्ने तयारी भएको जनाएको छ।
आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको हालसम्मको प्रगतिबारे आयोगले प्रधानमन्त्री सुशीला कार्कीलाई जानकारी गराएको छ। निर्वाचनलाई स्वच्छ र मर्यादित बनाउन सरकारी तथा गैरसरकारी निकायले गर्न पाउने गतिविधि, राजनीतिक दल तथा सरोकारवाला निकायको भूमिका र आचरणबारे आचारसंहितामा स्पष्ट व्यवस्था गरिएको आयोगले जनाएको छ।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार आयोगतर्फबाट कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचनको तयारी, निर्वाचन सामग्रीको छपाइ, जनशक्ति व्यवस्थापनलगायतका विषयमा शुक्रबार प्रधानमन्त्रीलाई जानकारी गराउनुभएको हो।
आचारसंहिताको कडाइका साथ पालना गराउन सरकार तथा सम्बन्धित सरोकारवाला निकायको प्रमुख भूमिका रहने आयोगको बुझाइ छ।