सुर्खेत । जाजरकोटको छेडागाड नगरपालिका–८ बाहार्नाखोलामा आज बिहान जिप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।
छेडागाड नगरपालिका–८ बाहार्नाखोलास्थित भित्री सडकखण्डमा छेडागाड नगरपालिका–९ पजारुबाट थलहतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ च १३२७ नम्बरको डबल क्याब बोलेरो जिप ब्रेक फेल भई सडकबाट करिब १५० मिटर तल खसेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा छेडागाड नगरपालिका–९ पजारुका ७० वर्षीया नन्दकला अधिकारी र २८ वर्षीय राजु अधिकारीको घटनास्थलमै मृत्यु भएको जाजरकोटका प्रहरी प्रमुख वसन्तकुमार शर्माले जानकारी दिए ।
दुर्घटनामा घाइते हुनेहरूमा छेडागाड नगरपालिका–९ का २४ वर्षीय कृष्ण अधिकारी, वडा नं. ८ की २० वर्षीया लक्ष्मी खत्री, वडा नं. ९ का ३९ वर्षीय वीरबहादुर रोकाय तथा दैलेख नौमुले गाउँपालिका–६ की २३ वर्षीया शीतला रावत रहेका छन् । घाइतेहरूको छेडागाड नगर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।