बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

प्रधानमन्त्री कप क्रिकेटका लागि जिल्लास्तरीय छनोट सञ्चालन गर्न निर्देशन

शुक्रबार, पुष २५ २०८२

बैतडी । प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिताअन्तर्गत सुदूरपश्चिम प्रदेशको जिल्लास्तरीय छनोट प्रतियोगिता सञ्चालन गर्न निर्देशन दिइएको छ ।

सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका सचिव लक्ष्मणदत्त भट्टका अनुसार जिल्लास्तरीय छनोट प्रतियोगिता आजदेखि आगामी माघ ११ गतेसम्म सम्पन्न गर्न सबै जिल्लालाई निर्देशन दिइएको हो ।

निर्देशनअनुसार जिल्ला छनोट प्रतियोगितामा कम्तीमा चार टिम सहभागी हुनुपर्नेछ भने प्रत्येक टिमले कम्तीमा तीन खेल खेल्नुपर्नेछ । प्रतियोगिता ५० ओभरको ढाँचामा सञ्चालन गरिनेछ । सहभागी खेलाडीहरूले अनिवार्य रूपमा दर्ता फाराम भरी फोटोसमेत टाँस्नुपर्ने व्यवस्था गरिएको छ ।

त्यसैगरी छनोट खेलहरूको स्कोर अनलाइन प्रणालीमा अनिवार्य रूपमा अद्यावधिक गर्नुपर्ने, प्रतियोगिताको खेल तालिका, सहभागी खेलाडीसहित टिमको नामावली, म्याच रिपोर्ट, स्कोरसिट तथा प्रतियोगिताका तस्बिरसहितको प्रतिवेदन नेपाल क्रिकेट संघ (क्यान) र प्रादेशिक क्रिकेट संघमा बुझाउनुपर्ने निर्देशनमा उल्लेख छ ।

सुदूरपश्चिम प्रदेशका बाजुराबाहेक आठ जिल्ला नेपाल क्रिकेट संघमा आबद्ध रहेका छन् । जिल्ला छनोट सम्पन्न भएपछि प्रदेशस्तरीय प्रतियोगिता आयोजना गरिनेछ ।

राष्ट्रिय खेलकुद परिषद्को कार्यक्रमअनुसार नेपाल क्रिकेट संघको आयोजनामा प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता यस वर्ष आगामी चैत १४ देखि वैशाख ५ गतेसम्म सञ्चालन गर्ने तयारी गरिएको छ ।