काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले वर्तमान सरकारमा रहेका मन्त्रीहरूलाई कुनै पनि दलप्रति ढल्कने छुट नभएको स्पष्ट पारेका छन् ।
गृह मन्त्रालय र बागमती प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयद्वारा संयुक्त रूपमा आयोजना गरिएको बागमती प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा बोल्दै उनले सरकारले पाएको मुख्य ‘म्यान्डेट’ तोकिएको मितिमा निर्वाचन सम्पन्न गर्नु रहेको बताए ।
गृहमन्त्री अर्यालले सरकार निर्वाचन प्रक्रियामा प्रवेश गरिसकेको उल्लेख गर्दै तोकिएकै मितिमा निर्वाचन हुनेमा कुनै शंका नगर्न सबै सम्बन्धित पक्षलाई आग्रह गरे । जेन–जी आन्दोलन सुशासन कायम गर्ने उद्देश्यका साथ भएको उल्लेख गर्दै उनले सरकार सुशासन कायम गर्न प्रतिबद्ध रहेको स्पष्ट गरे ।
तोकिएको समयमा निर्वाचन हुन नसके देशले गम्भीर संकटको सामना गर्नुपर्ने अवस्था आउन सक्ने चेतावनी दिँदै गृहमन्त्री अर्यालले सरकारले निर्धारित मितिमै निर्वाचन सम्पन्न गर्ने दृढता व्यक्त गरे। साथै, सरकारले गरिरहेका कामप्रति सकारात्मक वातावरण सिर्जना गरी मनोबल बढाइदिन सबै पक्षलाई आग्रह गरे ।
कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले सरकारमा रहेका मन्त्रीहरूको गतिविधिले निर्वाचनको वातावरण प्रभावित हुन सक्नेप्रति सचेत गराए । उनले स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न सुरक्षा निकायलाई आवश्यक साधनस्रोतले सम्पन्न बनाउनु पर्नेमा जोड दिए ।
मुख्यमन्त्री बानियाँले कृतिम बौद्धिकता (एआई), इन्टरनेट र सामाजिक सञ्जालको प्रयोगबाट फैलिन सक्ने भ्रामक समाचारले आसन्न निर्वाचनमा पार्न सक्ने प्रभावबारे पनि सचेत रहन गृह मन्त्रालय र सुरक्षा निकायलाई आग्रह गरे ।