शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

महाधिवेशन विवाद चर्किँदै जाँदा कांग्रेस विभाजनको संघारमा

शुक्रबार, पुष २५ २०८२

काठमाडौँ । मुलुकको सबैभन्दा ठूलो र प्रजातान्त्रिक दल नेपाली कांग्रेस आन्तरिक विवादका कारण विभाजन उन्मुख अवस्थामा पुगेको छ । १५औँ महाधिवेशन र विशेष महाधिवेशनलाई लिएर देखिएको मतभेद उत्कर्षमा पुगेसँगै पार्टीभित्र दुई स्पष्ट ध्रुव देखिन थालेका छन् ।

महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले पुस २७ र २८ गते दोस्रो विशेष महाधिवेशन आह्वान गरेपछि संस्थापन पक्ष ‘काउण्टर’ रणनीतिमा उत्रिएको हो । विशेष महाधिवेशनलाई चुनौती दिन संस्थापन पक्षले सोही मितिमा पार्टी कार्यालय सानेपामा विभिन्न कार्यक्रम गर्ने निर्णय गरेको छ । बिहीबार पार्टी सभापति शेरबहादुर देउवाको निवासमा बसेको संस्थापन पक्षका शीर्ष नेताहरूको बैठकले काउण्टर कार्यक्रम गर्ने निर्णय गरेको हो ।

बैठकमा सभापति देउवासहित बालकृष्ण खाँण, एनपी साउद, जीतजंग बस्नेत, नेविसंघ अध्यक्ष दुजाङ शेर्पा, महिला संघ अध्यक्ष उषा राउत, तरुण दल अध्यक्ष विद्वान गुरुङलगायतको सहभागिता रहेको थियो ।

नेविसंघ अध्यक्ष दुजाङ शेर्पाका अनुसार पुस २७ गते युवा भेला गर्ने प्रस्ताव सभापति देउवाले स्वीकृत गर्नुभएको छ । ‘पार्टीलाई एकताबद्ध राख्ने प्रयास गर्नुस् भनेर सभापतिज्यूले निर्देशन दिनुभएको छ,’ शेर्पाले भने। सो दिन सानेपामा हुने युवा भेलाको संयोजन तरुण दलका अध्यक्ष विद्वान गुरुङले गर्नेछन् । त्यसैगरी पुस २८ गते जिल्ला सभापतिहरूको भेला गर्ने तयारी गरिएको छ, जसको समन्वय केन्द्रीय सदस्य जीतजंग बस्नेत र भक्तपुर सभापति दुर्लभ थापालाई दिइएको छ ।

महामन्त्रीद्वय थापा र शर्माले भने पुस २७ र २८ गते विशेष महाधिवेशनको औपचारिक तयारी गरिसकेका छन् । विशेष महाधिवेशनलाई रोक्न संस्थापन पक्षले थप रणनीति बनाइरहेको जनाएको छ । सभापति देउवासँगको छलफलपछि आज बिहान साढे १० बजे नयाँ बानेश्वरमा संस्थापन पक्षीय केन्द्रीय सदस्यहरूको भेला पनि बोलाइएको छ, जसमा शीर्ष नेताहरूलाई भने नबोलाइएको बताइएको छ ।

यसअघि पुस १८ मा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले महामन्त्रीद्वयले आह्वान गरेको विशेष महाधिवेशन खारेज गर्ने निर्णय गरिसकेको छ । संस्थापन पक्ष आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनअघि १५औँ महाधिवेशन नगर्ने पक्षमा दृढ देखिएको छ । बहुमत पक्षले आगामी वैशाख २८ देखि ३१ गतेसम्म १५औँ महाधिवेशनको मिति तय गरिसकेको छ ।

तर, महामन्त्रीद्वय थापा र शर्माले ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षरसहित विशेष महाधिवेशनको तयारी अघि बढाएका छन् । विशेष महाधिवेशनका लागि १८ वटा उपसमिति गठन भइसकेका छन् । बहुमत जुटे विशेष महाधिवेशनको हलबाटै नयाँ कार्यसमिति घोषणा गर्ने दाबी पनि उनीहरूको छ ।

जिल्लाबाट विशेष महाधिवेशनको समर्थन

विशेष महाधिवेशन आह्वानसँगै जिल्लास्तरबाट समर्थन बढ्दै गएको छ । कांग्रेस ललितपुर सभापति जितेन्द्रकुमार श्रेष्ठ, कास्कीका किशोरदत्त बराल, सिन्धुपाल्चोकका जंगबहादुर लामा, उदयपुरका हिमाल कार्कीलगायतले विशेष महाधिवेशन स्वागत गर्दै सहभागिताका लागि अपिल जारी गरेका छन् । काभ्रेका तीर्थ लामा र धनकुटाका दिनेश राईले पनि विशेष महाधिवेशनको पक्षमा विज्ञप्ति जारी गरेका छन् । विशेष महाधिवेशन पक्षधर नेताहरूका अनुसार ३० भन्दा बढी जिल्ला सभापति यस पक्षमा उभिएका छन् ।

कोइरालाको मध्यमार्गी प्रस्ताव

यसैबीच, संस्थापन इतर समूहका नेता डा. शेखर कोइरालाले पार्टी विभाजनको खतरा बढेको भन्दै संवादमार्फत निकास खोज्न आग्रह गरेका छन् । बिहीबार सभापति देउवालाई भेटेर कोइरालाले विशेष महाधिवेशनलाई ‘संकल्प सभा’मा रूपान्तरण गरी पार्टी एकता जोगाउन सुझाव दिएका हुन् ।

‘विभाजनको पीडा तपाईंलाई पनि थाहा छ । संवादबाटै समाधान खोज्न सकिन्छ, त्यसका लागि तपाईंले पहल लिनुपर्छ,’ कोइरालाले देउवालाई भनेको बताइएको छ । विधानअनुसार महाधिवेशन हुनुपर्छ भन्ने आफ्नो अडान दोहोर्‍याउँदै उनले सहमतिका लागि लचकता देखाउन आग्रह गरे ।

महाधिवेशनको मुद्दाले कांग्रेसभित्रको आन्तरिक राजनीति थप चर्किँदै गएको छ । सहमतिको बाटो नखुले पार्टी औपचारिक विभाजनतर्फ जान सक्ने चिन्ता कांग्रेस वृत्तमा बढ्दै गएको छ ।