काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सिंहदरबार जलाउन उक्साउने को हो ? भन्दै प्रश्न उठाएका छन्। उनले सामाजिक सञ्जाल फेसबुकमार्फत काठमाडौं महानगरपालिकाका मेयर बालेन साहलाई लक्षित गर्दै टिप्पणी गरेका हुन्।
पोखरेलले भूकम्पले क्षतिग्रस्त सिंहदरबारलाई पुरानै स्वरूपमा पुनर्निर्माण गर्ने निर्णय एमाले नेतृत्वकै पहलमा भएको संकेत गर्दै लेखेका छन्, ‘अब प्रश्न गरौँ—भूकम्पले थिलोथिलो भएको सिंहदरबार पुरानै स्वरूपमा पुनर्निर्माण गर्ने को हो ? र त्यसलाई जलाउन उक्साउने र जलाउने को हो ?’
उनको यो टिप्पणी केही महिनाअघि सार्वजनिक बिदाको दिन मेयर बालेन साहकी श्रीमती सवार सरकारी गाडीलाई ट्राफिक प्रहरीले रोकेपछि बालेनले सिंहदरबार जलाइदिने अभिव्यक्ति दिएको घटनासँग जोडेर आएको हो। त्यस घटनापछि हालै ‘जेन–जी आन्दोलन’ का क्रममा सिंहदरबारमा आगजनी भएको थियो।
पोखरेलको भनाइले आगजनी घटनाप्रति राजनीतिक तहमा दोषारोपण र बहस तीव्र बन्दै गएको संकेत गरेको छ। सिंहदरबार जस्तो संवेदनशील राज्य संरचनामाथि भएको घटनालाई लिएर सुरक्षा, अभिव्यक्ति र राजनीतिक जिम्मेवारीबारे प्रश्न उठ्न थालेका छन्।