काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी सभापति शेरबहादुर देउवालाई भेट गरी कांग्रेस विभाजनतर्फ उन्मुख भइरहेको भन्दै त्यसलाई रोक्न पहल गर्न सुझाव दिएका छन्।
बिहीबार बिहान देउवा निवास धुम्बाराही पुगेर कोइरालाले विशेष महाधिवेशन पक्षधरको भावना पनि समेटिने गरी समाधान खोज्नुपर्ने बताएका हुन्। नेता डा. मिनेन्द्र रिजालसँगै देउवा निवास पुगेका कोइरालाले दुवै पक्षलाई स्वीकार्य हुने मध्यमार्गी धार अवलम्बन गर्न आग्रह गरे।
कांग्रेस विभाजनको पीडा देश र पार्टीले यसअघि नै भोगिसकेको स्मरण गराउँदै कोइरालाले पुनः त्यही अवस्था दोहोरिन नदिन सभापति देउवासमक्ष आग्रह गरेको उनको सचिवालयले जनाएको छ।
सचिवालयका अनुसार कोइराला आज दिउँसो २ बजे आफू निकटका पदाधिकारीसहित पुनः देउवा निवास जाने तयारीमा छन्। उक्त भेटमा उपसभापति धनराज गुरुङ, सहमहामन्त्रीद्वय बद्री पाण्डे र जीवन परियार तथा नेता मिनेन्द्र रिजाल सहभागी हुनेछन्।
यसैबीच महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पार्टीलाई विधि, विधान र राजनीतिक गतिशीलतामा फर्काउने उद्देश्यसहित पुस २७ र २८ गते विशेष महाधिवेशनको औपचारिक आह्वान गरिसकेका छन्।
उता पार्टी नेतृत्वको निर्देशनमा केन्द्रीय कार्यालयले विशेष महाधिवेशन आह्वान गर्ने अधिकार केन्द्रीय कार्यसमितिमा मात्रै निहित रहेको जनाउँदै चेतावनीयुक्त विज्ञप्ति जारी गरेको छ।