काठमाडौँ । नेपाली सेनाले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि करिब ८० हजार जनशक्ति परिचालन गर्ने तयारी गरेको छ।
नेपाली सेनाका सहायक रथी एवं प्रवक्ता राजाराम बस्नेतका अनुसार निर्वाचनका लागि तयार गरिएको एकीकृत सुरक्षा योजना–२०८२ सरकारबाट अनुमोदन भई राष्ट्रिय सुरक्षा परिषद् र राष्ट्रपतिबाटसमेत स्वीकृत भइसकेको छ। सोही योजनाअनुसार सेना परिचालन गरिने उनले जानकारी दिए ।
प्रवक्ता बस्नेतले भने, “एकीकृत सुरक्षा योजनाले मार्गनिर्देशन गरेअनुसार निर्वाचनको करिब एक महिना अघिदेखि नै फिल्डमा सेना परिचालन हुनेछ।”
निर्वाचनका क्रममा नेपाली सेनाले तीन चरणमा सुरक्षा जिम्मेवारी निर्वाह गर्नेछ। निर्वाचनपूर्व चरणमा मतपत्र छपाइको सुरक्षा तथा विमानस्थल, कारागारलगायत महत्वपूर्ण संरचनाको सुरक्षा नेपाली सेनाले नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालसँगको समन्वयमा गर्नेछ।
यसैगरी निर्वाचनसँग सम्बन्धित एकीकृत तालिम र अभ्यास चार वटै सुरक्षा निकाय, जिल्ला प्रशासन तथा सम्बन्धित निकायसँगको सहकार्यमा तल्लो तहसम्म सञ्चालन गरिनेछ। निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न यी तालिम तथा अभ्यास केन्द्रित हुने सेनाले जनाएको छ।
मतदानका दिन निर्वाचनस्थल र केन्द्रमा नेपाली सेना तेस्रो घेरामा खटिँदै राजनीतिक दल, उम्मेदवार, मतदाता तथा निर्वाचनमा संलग्न कर्मचारीको सुरक्षामा पूर्ण प्रत्याभूति दिनेछ।