काठमाडौं । नयाँ राजनीतिक परिवेशमा यहि पुस्ताका नेताहरुको जन्म भएको छ। उनीहरु चुनावमा जाने तयारीमा पनि छन्।
भदौ २३ र २४ गते भएको जेनजी बिद्रोहको सार्थकता बुझाउनका लागि त्यसका अभियन्ता वा लिडरका रुपमा स्थापित अनुहार आगामी मध्यावधि निर्वाचनमा सहभागी हुने सोचमा रहेका छन्।
भदौ २३ गतेको जेन जी प्रदर्शनका लागि अनुमति लिन जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएका पुरुषोत्तम यादव राष्ट्रिय स्वतन्त्र पार्टीबाट समानुपातिक प्रणालीअन्तर्गत उम्मेदवार बनेका छन्।
यादवसँगै जेन जी आन्दोलनपछि सरकारको मन्त्री बन्ने चर्चामा आएकी अर्की नवयुवा टासी लाजोम पनि त्यही दलबाट समानुपातिक उम्मेदवार बनेकी थिइन्। उनी प्रत्यक्षमा पनि लड्न सक्ने अनुमान गरिन्छ।
कतिपय जेन जी अगुवाहरूले प्रत्यक्ष चुनाव लड्नेबारे छलफल गरिरहेका छन्। तर धेरैजसो जेन जी अगुवाहरू आगामी फागुनका लागि तोकिएको चुनावमा आफैँ उम्मेदवारी दिने तयारी नरहेको बताउँछन्।
जेनजी रेड फोर्सकी संयोजक स्मृति तिम्सिना चुनाव लड्ने तयारीमा छिन् । नेपाली कम्युनिष्ट पाटिले समानुपातिक सुचिमा उम्मेदवारको रुपमा सिफारिस गरे पनि तिम्सिना प्रत्यक्षमा लड्ने तयारीमा छिन् । आगामी पुस २७ गते जेनजी जागरण सभाको तयारीमा हाल व्यस्त रहेका उनले बताइन् ।
जेन जी अभियानपछि चर्चामा आएको अर्को नाम हो रक्षा बम।
बमले आफू कैलालीबाट प्रत्यक्ष चुनाव लड्ने सोचमा रहेको बताएकी थिइन्।
उनले यस विषयमा बीबीसी नेपाली सेवालई दिएको छोटो प्रतिक्रिया सतहमा आएको छ। उनले भनेकी छन्,‘(कहाँबाट उम्मेदवार बन्ने) अहिले टुङ्गो लागिसकेको छैन। तर म चुनाव नै लड्ने हो।’
काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहकै समूहमा रहेर राजनीतिमा आउने बताएकी बम बालेन प्रधानमन्त्रीको उम्मेदवार रहने भनिएको राष्ट्रिय स्वतन्त्र पार्टीमा भने खुलेर देखिएकी छैनन्।
जेनजी रेडफोर्समा रहेर अगाडि बढिरहेका संदिप लुइटेल प्रत्यक्षमा चुनाव लड्ने तयारीमा छन् । उनलाई नेपाली कम्युनिष्ट पाटिले काठमाडौं क्षेत्र नं. १ मा उम्मेदवारको रुपमा सिफारिस गरेको छ ।
आगामी पुस २७ गते जेनजी जागरण सभाको तयारीमा हाल व्यस्त रहेका उनले बताए ।
जेन जी प्रदर्शनपछि राष्ट्रिय परिचयपत्रबाट मतदाता नामावलीमा दर्ताका लागि सहजीकरण गर्न सक्रिय देखिएकी भावना राउत पनि प्रत्यक्ष चुनाव लड्ने सोचमा आफू रहेको बताउँछिन्।
उनी त झनै कडा प्रतिस्पर्धाको सोचमा रहिछन्। विवरण अनुसार उनको इच्छा प्रत्यक्ष चुनाव लड्ने हो। राजनीतिक अभियानमा सक्रिय हुनुपर्ने भएर समानुपातिकमा बस्ने सुझाव पाए पनि उनी बसिनन्।
यसअघिका निर्वाचनहरूमा चुनावी रणनीतिकारका रूपमा विभिन्न उम्मेदवारहरूलाई सघाएकी राउत पछिल्लो पटक तनहुँमा भएको उपनिर्वाचनमा रास्वपाका स्वर्णिम वाग्लेको प्रचारप्रसारमा संलग्न थिइन्।
राउत अहिले तीन वटा वैकल्पिक राजनीतिक शक्तिहरू मिलेर बनेको राष्ट्रिय स्वतन्त्र पार्टीमा खुलेकी छन्।
पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी ओलीले यसअघि चुनाव लड्दै आएको झापा–५ मै आफ्नो घर भएका कारण त्यही क्षेत्रबाट चुनाव लड्ने योजना आफूले बनाएको राउत बताउँछिन्।
काउन्सिल अफ जेन जीका संयोजक सुधन गुरुङले गोरखाबाट चुनाव लड्नेबारे आफूनिकटहरूसँग छलफल गरिरहेको जेन जी अगुवाहरू बताउँछन्।
उनले गोरखा–२ रोज्ने तयारी छ। यद्यपि उक्त क्षेत्रमा बाबुराम भट्टराई पनि उम्मेदवार बन्ने भएका कारण गोरखा–१ मा गुरुङ पुग्न सक्ने अनुमान रिन्छ।
पछिल्लो समय देशैभरि नवयुवाहरूको सञ्जाल बनाउन लागिरहेको बताउने गुरुङले रास्वपामा बालेन र कुलमान घिसिङ मिलाउने काम गरेका थिए।
बालेनका निकट सहयोगी तथा युवा नेता भूपदेव शाहको चर्चा अछाम–२ का लागि चलिरहेको छ।
‘मेरो घर अछाम–२ मा पर्छ। म त्यहीँबाट चुनाव लड्ने सोचमा छु। टीममा छलफल हुँदा अर्को ठाउँबाट लड्ने कुरा भयो भने मात्रै, नभए मेरो तयारी अछामकै छ’, शाहले भने।
पछिल्लो समय बालेननिकटको रूपमा चिनिएका सफाइ अभियानकर्मी केपी खनाल पनि प्रत्यक्ष चुनाव लड्ने योजनामा रहेको बताउँछन्।
जेन जी प्रदर्शनका क्रममा गरेको भाषणबाट चर्चामा आएका प्रवेश दाहालले आफ्नो उमेर नपुगेका कारण आगामी निर्वाचनमा आफूले जेन जी आन्दोलनको भावनालाई सम्बोधन गर्न सक्ने उम्मेदवारलाई समर्थन गर्ने बताए।
जेन जी आन्दोलनमा घाइतेलाई मोटरसाइकलमा अस्पताल पु¥याएर चर्चामा आएकी किशोरी कार्कीले ओखलढुङ्गाबाट उम्मेदवारी दिने तयारी गरेकी छन्। उनले प्रत्यक्षतर्फ उम्मेदवारी दिने घोषणा गरेकी छन्।