शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

कांग्रेसका महामन्त्रीद्वयमाथि घेराबन्दीको आरोप

बुधबार, पुष २३ २०८२

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीभित्र आफू र विश्वप्रकाश शर्माविरुद्ध घेराबन्दी भएको बताएका छन् ।

बुधवार पार्टी केन्द्रीय कार्यालयमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले हालै पार्टीमा प्रक्रिया र विधान निल्दै गएको आरोप लगाए। उनका अनुसार, संख्याको दम्भले केही नेताहरूले आफूहरूलाई प्रहार गर्दै पार्टीको घेराबन्दी गर्न खोजेका छन्।

महामन्त्री थापाले भने, “नेपाली काँग्रेस पार्टीभित्र पछिल्लो समयमा प्रक्रिया र विधान निल्दै जाने क्रममा म र अर्को महामन्त्री विश्वप्रकाश शर्मा पार्टीको महामन्त्रीको रुपमा आफ्नो भूमिका निर्वाह गरिरहँदा यसलाई कर्नर गर्ने, घेराबन्दी गर्ने, र यसका विरुद्ध सबै मिल्ने काम भएको छ। मैले नेताहरुलाई भनेको छु, यहाँभित्र सबै मिलेर मलाई र विश्वप्रकाश शर्मालाई जति घेराबन्दी गरे पनि यहाँको घेरा सानो छ, तर पार्टीको घेरा ठूलो छ। समर्थक, शुभेच्छुकको घेरा ठूलो छ। तपाईंहरू हामीलाई पार्टीको साँघुरो घेराबाट झन् ठूलो घेरामा जान बाध्य पार्दै हुनुहुन्छ।”

उनले संख्याको आधारमा दम्भ राखेर महामन्त्रीहरूलाई घेराबन्दी गरिएको र आम कार्यकर्ताको समर्थनले त्यसलाई चुनौती दिने उल्लेख गरे ।