ललितपुर । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनबीच भेटवार्ता भएको छ।
ललितपुरको लुभुलामाटारस्थित अध्यक्ष लिङ्देनको निवासमा आज बिहान भएको भेटमा आसन्न प्रतिनिधिसभा निर्वाचन, समसामयिक राजनीतिक अवस्था लगायतका विषयमा छलफल भएको जनाइएको छ।
भेटपछि सञ्चारमन्त्री खरेलले निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न सरकारले गर्नुपर्ने कामहरूलाई उच्च प्राथमिकताका साथ अघि बढाइरहेको जानकारी दिनुभयो। सो अवसरमा राप्रपा अध्यक्ष लिङ्देनले निर्वाचनका लागि आफ्नो पार्टी पूर्ण रूपमा प्रतिबद्ध रहेको स्पष्ट पारेका थिए।
सरकारका प्रवक्तासमेत रहेका मन्त्री खरेलले यसअघि पनि निर्वाचनको अनुकूल वातावरण निर्माणका लागि प्रमुख राजनीतिक दलका नेताहरूसँग निवासमै पुगेर भेटवार्ता गर्दै आएका छन् ।