काठमाडौँ । अभियन्ता आशिका तामाङले ऊर्जा मन्त्री कुलमान घिसिङप्रति कटाक्ष गरेकी छन्।
नागरिक सरकारमा रहेका व्यक्तिहरू राजनीतिमा संलग्न हुन नपाउने व्यवस्था हुँदाहुँदै घिसिङले कुनै पार्टीमा वरिष्ठ उपसभापतिको जिम्मेवारी लिएको समाचार सार्वजनिक भएपछि उनले प्रश्न उठाएकी हुन्।
तामाङले मन्त्री घिसिङको नैतिकतामाथि प्रश्न गर्दै सामाजिक सञ्जालमा लेखेकी छन्, “पार्टीको उपसभापति भएको मान्छे, आफ्नो मन्त्री पद खुस्किन्छ भनेर पार्टीको म सदस्य होइन भन्न कुन नैतिकताले दिन्छ र?”
पछिल्लो समय ऊर्जा मन्त्री घिसिङ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा आवद्ध भई वरिष्ठ उपसभापतिको जिम्मेवारी लिएको समाचार सार्वजनिक भएपछि विवाद चुलिएको हो। यद्यपि घिसिङले आफू कुनै पनि राजनीतिक पार्टीमा आवद्ध नरहेको दाबी गर्दै आएका छन्।
यस विषयले सामाजिक सञ्जाल तथा राजनीतिक वृत्तमा नैतिकता र जिम्मेवारीबारे बहस सुरु भएको छ।
यसैबीच प्रधानमन्त्री सुशीला कार्कीले पार्टी गतिविधिमा लागेका मन्त्रीहरुलाई राजीनामा दिन आग्रह गरेकी छन् । राजनीतिक गतिविधिमा केन्द्रीत रहेको पाइएको भन्दै प्रधानमन्त्रीले ऊर्जामन्त्री कुलमान घिसिङ, खेलकुदमन्त्री बब्लु गुप्ता र सञ्चारमन्त्री जगदीश खरेललाई राजीनामा दिन सुझाएको बुझिएको छ ।
हालै कुलमानले आफू संरक्षक रहेको उज्यालो नेपाल पार्टीलाई रास्वपामा मिसाएका थिए । सोही पार्टीमा रास्वपाले कुलमानलाई उपसभापति बनाएको छ । यस्तै रास्वपाको गतिविधिमा बब्लु पनि देखिँदै आएका छन् ।