काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले विशेष महाधिवेशन सहमतिका आधारमा केन्द्रीय समितिले नै आह्वान गर्नुपर्नेमा जोड दिएका छन् ।
आज पार्टीका नेताहरूसँग भएको भेटघाटमा उनले विशेष महाधिवेशन पक्षधरहरूसँग छलफल गरेर आगामी माघ ६ गतेपछि विशेष महाधिवेशन बोलाउनु उपयुक्त हुने धारणा राखेकाे भेटमा सहभागी केन्द्रीय सदस्य पुष्पा भुसालले जानकारी दिए ।
डा. कोइरालाले सबैको भावना सम्बोधन हुने गरी केन्द्रीय समितिले विशेष महाधिवेशन आह्वान गरे त्यसलाई सबैले स्वीकार गर्ने विश्वास व्यक्त गर्दै आफू त्यसका लागि सक्रिय रहेको बताए। साथै, उनले प्रतिनिधिसभा निर्वाचनमा गठबन्धन नगर्नु उपयुक्त हुने धारणा पनि राखे।
नेत्री भुसालका अनुसार अधिकांश केन्द्रीय सदस्यहरूले विशेष महाधिवेशनलाई चुनावी घोषणासभाका रूपमा रूपान्तरण गर्दै निर्वाचनमा जानुपर्नेमा जोड दिएका थिए।
डा. कोइरालालाई भेट्न चिनकाजी श्रेष्ठ, डिला सङ्ग्रौला, रामजनम चौधरी, उदयशमशेर राणा, अर्जुन जोशीलगायतका केन्द्रीय सदस्यहरू उहाँको सम्पर्क कार्यालय पुगेका थिए।