बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

वीरगञ्जमा कर्फ्यू आदेश आज दिउँसो १ बजेसम्म थप

मंगलबार, पुष २२ २०८२

वीरगञ्ज । जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिका क्षेत्रमा आज बिहान ८ः०० बजेदेखि दिउँसो १ः०० बजेसम्मका लागि कर्फ्यू आदेश थप गरेको छ।

प्रशासनले सोमबार बेलुका ६ः०० बजेदेखि मङ्गलबार बिहानसम्म कर्फ्यू आदेश जारी गरेको थियो। पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालका अनुसार विवाद समाधानका लागि पहल भइरहेकाले सुरक्षा अवस्था नियन्त्रणमा राख्न कर्फ्यू अवधि थप गरिएको हो।

स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(क) बमोजिम वीरगञ्ज महानगरपालिका क्षेत्रभित्र चार किल्ला तोकी कर्फ्यू आदेश जारी गरिएको प्रजिअ दाहालले जानकारी दिनुभयो। कर्फ्यू आदेशअनुसार तोकिएको सीमाभित्र कसैले आवतजावत गर्न, कुनै पनि प्रकारका भेला, जुलुस, प्रदर्शन, सभा, बैठक तथा घेराउ गर्न नपाउने व्यवस्था गरिएको छ।

प्रशासनका अनुसार पूर्वतर्फ बसपार्क, पश्चिमतर्फ सिर्सियापुल, उत्तरतर्फ पावरहाउस चोक र दक्षिणतर्फ शङ्कराचार्य गेटसम्मको क्षेत्रमा कुनै पनि प्रकारका सभा, सम्मेलन, जुलुस तथा धर्ना गर्न निषेध गरिएको छ।

प्रजिअ दाहालले कर्फ्यूका क्रममा सुरक्षाकर्मीले देख्नेबित्तिकै गोली हान्न सक्ने भएकाले अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्किन आग्रह गर्नुभएको छ। निस्कनै परेमा नजिकको सुरक्षाकर्मीसँग समन्वय गरेर मात्र निस्कन अनुरोध गरिएको छ। कर्फ्यू अवधिमा अत्यावश्यक सेवाका सवारीसाधन भने सञ्चालन गर्न पाइने प्रशासनले जनाएको छ।