काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारत भ्रमणबाट फर्किएलगत्तै आन्तरिक राजनीतिक छलफलमा व्यस्त भएका छन्। एकता सन्देश सभालाई सम्बोधन गर्न आइतबार नयाँदिल्ली गएका प्रचण्ड सोमबार राति स्वदेश फर्किएका हुन्। दिल्ली बसाइका क्रममा उनले भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालसँग भेटवार्ता गरेका थिए।
हिजो काठमाडौँ फर्किएका प्रचण्ड आज बिहानैदेखि पार्टीका नेताहरूसँग छलफलमा जुटेका छन्। उनका सचिवालयका अनुसार राष्ट्रिय सभाको निर्वाचनलगायत समसामयिक राजनीतिक विषयमा आन्तरिक छलफल भइरहेको छ। यसक्रममा अन्य दलका शीर्ष नेताहरूसँग पनि भेटघाट र संवाद हुन सक्ने स्रोतले जनाएको छ।
खासगरी राष्ट्रिय सभामा तालमेल गर्ने विषयमा नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टीबीच शीर्ष तहमा छलफल चलिरहेको छ। स्रोतका अनुसार एमालेले ७ सिट, नेपाली कांग्रेसले ७ सिट र नेपाली कम्युनिष्ट पार्टीले ४ सिट पाउने मोडेलमा अनौपचारिक छलफल भइरहेको छ।
यद्यपि, प्रचण्डले मधेश प्रदेशका केही साना दललाई समेत समेट्ने गरी मतभारका आधारमा सिट बाँडफाँट गर्नुपर्ने प्रस्ताव अघि सारेका छन्। शीर्ष नेताहरूको छलफलबारे जानकार एक नेताका अनुसार ‘सम्मानजनक सिट’मा सहमति जुटे राष्ट्रिय सभामा मिलेर जान सकिने प्रचण्डको धारणा रहेको छ।