बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

कांग्रेसको कार्यसम्पादन समिति बैठक आज, विशेष महाधिवेशनको विषयमा छलफल हुने

सोमबार, पुष २१ २०८२

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक आज (सोमबार) बस्दैछ। पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठक दिउँसो १ बजे केन्द्रीय कार्यालय सानेपामा आयोजना हुनेछ।

यसअघि शुक्रबार बसेको कार्यसम्पादन समिति बैठकले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म गर्ने प्रस्ताव पारित गरेको थियो। उक्त निर्णयपछि पार्टीभित्र विशेष महाधिवेशनको मागलाई लिएर बहस तीव्र बनेको छ।

कार्यसम्पादन समितिको निर्णयसँगै महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले यही पुस २७ र २८ गते विशेष महाधिवेशनको तयारी अघि बढाएपछि आज पुनः कार्यसम्पादन समिति बैठक बस्न लागेको हो।

यसअघि गत असोज २९ गते नेपाली कांग्रेसका कूल महाधिवेशन प्रतिनिधिमध्ये ५४ प्रतिशतले विशेष महाधिवेशनको माग गर्दै केन्द्रीय कार्यालयमा निवेदन दिएका थिए।

कांग्रेसको १४औँ महाधिवेशनमा सहभागी कूल ४ हजार ७४३ प्रतिनिधिमध्ये २ हजार ४८८ जनाले विशेष महाधिवेशनको माग गरेका छन्। पार्टी विधानअनुसार कूल प्रतिनिधिको ४० प्रतिशतले माग गरेमा तीन महिनाभित्र विशेष महाधिवेशन बोलाउनुपर्ने प्रावधान रहेको छ।