बेलायत । बेलायतमा ‘वर्क परमिट’ दिलाइदिने बहानामा नेपाली नागरिकलाई ठगी गर्ने घटनामा वृद्धि भएको भन्दै लण्डनस्थित नेपाली दूतावासले सबैलाई सजग रहन आग्रह गरेको छ।
दूतावासले जारी गरेको विज्ञप्तिमा कामका लागि प्रायोजक खोजिदिने आश्वासन दिएर ठगी गर्ने गतिविधि बढ्दै गएको उल्लेख गरिएको छ। विशेषगरी नेपालबाट बेलायत जान चाहने नेपालीहरू बढी मात्रामा ठगीमा परेको गुनासो आएको दूतावासले जनाएको छ।
यसैगरी, बेलायतमै रहेका तर रोजगारीको खोजीमा रहेका केही नेपालीसमेत यस्ता ठगीको सिकार बनेको जनाइएको छ। विज्ञप्तिमा ठगी गर्नेहरूमा कतिपय नेपालीमूलका व्यक्तिहरू स्वयं रहेको तथा चिनेजानेका नेपालीमार्फत तेस्रो मुलुकका व्यक्तिसँग सम्पर्क गराई ठगी गराउने गरेको गुनासो आएको उल्लेख छ।
यस्ता किसिमका अपराध नेपाल र बेलायत दुवै मुलुकमा दण्डनीय हुने भएकाले पीडितलाई सम्बन्धित अनुसन्धान निकायमा उजुरी गर्न दूतावासले सुझाव दिएको छ। बेलायतमा रहेका पीडितले स्थानीय प्रहरी तथा नेशनल एन्टी–फ्रड नेटवर्क (एक्सन फ्रड) मा समेत उजुरी गर्न सक्ने दूतावासले जनाएको छ।
बेलायतका लागि कार्यवाहक नेपाली राजदूत विपिन दुवाडीले प्रमाणसहित दूतावासमा आउने पीडितको न्यायका लागि सहजीकरण गर्न दूतावास सधैँ तयार रहेको बताउनुभएको छ। समस्यामा परेका नेपालीलाई दूतावासको इमेल वा +४४–७४०४९३९२७४ मा सम्पर्क गर्न आग्रह गरिएको छ।