यस्ताे छ वर्षाकाे क्षेत्रगत सम्भावना
काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले आगामी पुस १७ देखि फागुन १६ गतेसम्मको दुई महिना अवधिमा देशका अधिकांश भूभागमा वर्षा सरदरभन्दा कम हुने अनुमान सार्वजनिक गरेको छ।
विभागका सूचना अधिकारी दिनकर कायस्थका अनुसार गत डिसेम्बरमा पनि देशभर सरदरभन्दा कम वर्षा मापन भएको थियो र आगामी दिनहरूमा पनि कम वर्षा हुने सम्भावना रहेको छ।
विभागले आकलनअनुसार सुदूरपश्चिम, कर्णाली प्रदेशका उत्तरी भूभाग र गण्डकी प्रदेशका उत्तर–पश्चिमी भूभागमा वर्षा सरदरभन्दा कम, सरदर वा सरदरभन्दा बढी हुन सक्ने सम्भावना रहेको जनाएको छ।
क्षेत्रगत सम्भावना:
सुदूरपश्चिमको मध्य भूभाग, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका दक्षिणी भूभाग, बागमती प्रदेशका अधिकांश भाग, मधेस प्रदेशका मध्य भूभाग र कोशी प्रदेशका पश्चिमी भूभागमा सरदरभन्दा कम वर्षा हुने सम्भावना ५५–६५%।
सुदूरपश्चिमका दक्षिण–पश्चिमी भूभाग, कर्णालीका मध्य भूभाग, लुम्बिनीका उत्तरी भूभाग, गण्डकीका मध्य भूभाग, बागमतीका मध्य भूभाग, मधेसका पूर्वी तथा पश्चिमी भूभाग र कोशी प्रदेशका मध्य तथा दक्षिणी भूभागमा सरदरभन्दा कम वर्षा हुने सम्भावना ४५–५५%।
बाँकी भूभागमा सरदरभन्दा कम वर्षा हुने सम्भावना ३५–४५% रहेको छ।
विभागले विश्व मौसम सङ्गठनका क्षेत्रीय र विश्वव्यापी जलवायु डाटालाई आधार मानेर आकलन तयार गरेको छ। यसमा पूर्वी प्रशान्त महासागरमा विकसित एलनिनो र हिन्द महासागरको इन्डियन ओसन डिप्लोइक (IOD) जस्ता प्रणालीहरूको वर्तमान अवस्था समेत मध्यनजर गरिएको छ।
कायस्थका अनुसार, हाल प्रशान्त महासागरमा लानिनाको अवस्था छ र हिउँद ऋतुको अन्त्यसम्म तटस्थतर्फ जाने सम्भावना छ। इन्डियन ओसन डिप्लोइक हाल तटस्थ अवस्थामा रहेको र हिउँद अवधिभर तटस्थ रहन सक्ने विश्वव्यापी प्रारूपको अनुमान गरिएको छ।
विभागले चेतावनी दिएको छ कि ऋतुगत जलवायु पूर्वानुमान विभिन्न समुद्री तथा वायुमण्डलीय प्रणाली, भूउपयोग र मौसम परिवर्तनमा निर्भर हुने भएकाले शतप्रतिशत विश्वसनीय पूर्वानुमान गर्न कठिन छ।