काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अत्यधिक चिसो बढ्दै गएकाले जनस्वास्थ्यमा प्रतिकूल असर पर्न सक्ने भन्दै अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन सर्वसाधारणलाई अनुरोध गरेको छ।
मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले चिसोका कारण रुघाखोकी, ज्वरो, दम बढ्ने, सास फेर्न गाह्रो हुने तथा हाइपोथर्मियाजस्ता समस्या भएका बिरामीको सङ्ख्या बढ्ने भएकाले सावधानी अपनाउन आग्रह गरेका हुन् ।
“जाडोयाम सुरु भएसँगै तापक्रम सामान्यभन्दा कम हुँदा शीतलहर, हुस्सु, कुहिरो र हिमपातजस्ता अवस्थाले जनस्वास्थ्यमा प्रतिकूल असर पार्ने गरेको छ। यसका कारण रुघाखोकी, ज्वरो, दम बढ्ने, सास फेर्न गाह्रो हुने तथा हाइपोथर्मियाका बिरामी बढ्ने गरेका छन्,” उनले बताए।
डा. बुढाथोकीले चिसोका कारण देखिने समस्या रहिरहे वा बढ्दै गएमा ढिला नगरी नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्न वा ‘हेलो स्वास्थ्य’ कल सेन्टर १११५ मा फोन गरी परामर्श लिन अनुरोध गरे। उनका अनुसार जाडोयाममा बालबालिका, गर्भवती महिला, वृद्धवृद्धा तथा दीर्घरोगीहरू बढी जोखिममा पर्ने गर्छन्।
उनले पछिल्ला वर्षहरूमा जाडोयामसँगै बढ्ने वायु प्रदूषणले मुटु, फोक्सो र मस्तिष्कलगायत अङ्गमा गम्भीर असर पार्ने, दम र क्यान्सरजस्ता दीर्घरोगको जोखिम बढाउने तथा मृत्युदरसमेत बढ्न सक्ने चेतावनी दिए ।
चिसोबाट हुने सम्भावित समस्या न्यूनीकरण गर्न धुवाँधुलोबाट जोगिने, पोषणयुक्त सन्तुलित खाना खाने, न्यानो लुगा लगाउने, भिटामिन ‘सी’ प्रशस्त हुने सुन्तला, कागती र अमला खाने, मौसमअनुसार ताजा फलफूल र सागपात पर्याप्त मात्रामा सेवन गर्ने, सरसफाइमा ध्यान दिने तथा प्रशस्त झोल पदार्थ खाने सुझाव पनि मन्त्रालयले दिएको छ।