काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता झलनाथ खनालले अमेरिकाले भेनेजुएलामाथि गरेको आक्रमणलाई अपराधपूर्ण र अन्तर्राष्ट्रिय कानूनविपरीतको कार्य भन्दै कडा शब्दमा निन्दा गरेका छन् ।
खनालले जारी गरेको प्रेस विज्ञप्तिमा अमेरिकाको ट्रम्प प्रशासनअन्तर्गत डेल्टा फोर्सले ल्याटिन अमेरिकाको सानो मुलुक भेनेजुएलामाथि करिब १५० लडाकु विमान प्रयोग गरी नाङ्गो र क्रूर आक्रमण गरेको आरोप लगाएका छन्। उक्त आक्रमणमा कैयौँ नागरिक र सैनिकको ज्यान गएको, सैनिक संरचना ध्वस्त पारिएको तथा भेनेजुएलाका निर्वाचित र वैधानिक राष्ट्रपति निकोलस मदुरो र प्रथम महिला सेलिया फ्लोरेसलाई जबरजस्ती अपहरण गरी अमेरिका पुर्याइएको उल्लेख गरेका छन् ।
उनले यस घटनालाई भेनेजुएलाको सार्वभौमसत्तामाथिको ठाडो उल्लङ्घन, अन्तर्राष्ट्रिय कानूनको उपहास तथा अत्यन्त लज्जास्पद ढङ्गले गरिएको घोर अपराधपूर्ण कार्यको संज्ञा दिएका छन्। खनालले आफ्नो पार्टी र सम्पूर्ण नेपाली जनताको तर्फबाट यस ‘निर्लज्ज अमेरिकी कारबाही’को कडा भर्त्सना र निन्दा गरेका छन् ।
विज्ञप्तिमा खनालले अमेरिकाले लामो समयदेखि भेनेजुएला र राष्ट्रपति मदुरोमाथि गिद्धे दृष्टि लगाउँदै आएको दाबी गर्दै, भेनेजुएला विश्वकै सबैभन्दा ठूलो तेल भण्डार भएको देश भएकाले त्यसको स्रोत कब्जा गर्न अमेरिकी स्वार्थ प्रेरित रहेको आरोप लगाएका छन्।
उनका अनुसार मदुरो नेतृत्वको सरकार उक्त स्वार्थका लागि प्रमुख अवरोध बनेकाले ट्रम्प प्रशासनले ‘ड्रग ट्राफिकिङ’जस्ता नक्कली बहाना खडा गरी एक सार्वभौम देश र त्यसका वैधानिक रूपमा निर्वाचित राष्ट्रपतिमाथि अमानवीय ढङ्गले आक्रमण र अपहरण गरेको हो।
