शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

रवि, कुलमान र बालेनलाई मिराज ढुंगानाकाे प्रश्न : संविधान संशोधन सम्भव छ कि भ्रम ?

आइतबार, पुष २० २०८२

काठमाडौं । जेन–जी आन्दोलनका अगुवा मिराज ढुंगानाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने, ऊर्जा मन्त्री कुलमान घिसिङ र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)लाई लक्षित गर्दै गम्भीर प्रश्न उठाउँदै सार्वजनिक जवाफ माग गरेका छन् ।

सामाजिक सञ्जालमार्फत विज्ञप्ति जारी गर्दै ढुंगानाले जेन–जी आन्दोलनको स्पष्ट दिशा, निर्वाचन प्रणालीप्रतिको धारणा, संविधान संशोधनको सम्भावना र पछिल्लो समय देखिएको राजनीतिक एकताको आधारबारे स्पष्टता आवश्यक रहेको बताएका हुन् ।

ढुंगानाले रवि लामिछाने र रास्वपाले आगामी निर्वाचनमा कति सिट जित्ने यथार्थपरक आकलन गरेका छन् भन्ने प्रश्न उठाएका छन्। साथै निर्वाचनपछि जेन–जी आन्दोलनको चाहनाअनुसार संविधान संशोधन सम्भव छ वा छैन भन्ने विषयमा ठोस जवाफ माग गरेका छन् ।

जेन–जी आन्दोलनको अपनत्व लिएको दाबी गरिए पनि समानुपातिक निर्वाचन प्रणालीको व्यापक दुरुपयोग भइरहेका बेला सार्वजनिक भएको बन्दसूचीले पुरानै राजनीतिक परम्पराको निरन्तरता देखाएको ढुंगानाको आरोप छ। यही प्रणालीमार्फत देशले अपेक्षा गरेको परिवर्तन सम्भव हुन्छ कि हुँदैन भन्ने प्रश्न पनि उनले उठाएका छन् ।

पछिल्लो निर्वाचनमा २१ सिट जितेको दलले यसपटक १८४ सिट जित्ने दाबी कति यथार्थपरक छ भन्ने विषयमा पनि ढुंगानाले प्रश्न गरेका छन् । संविधान संशोधनका लागि राष्ट्रिय सभाको भूमिका अनिवार्य हुने उल्लेख गर्दै, हाल रास्वपाको राष्ट्रिय सभामा एक जना पनि प्रतिनिधि नरहेको अवस्थामा संविधान संशोधन कसरी सम्भव हुन्छ भन्ने जिज्ञासा उनले व्यय गरेका छन् ।