काठमाडौँ । नेपाल प्रहरीको प्राविधिक तर्फ रहेका दुई प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) पद जनपद समूहतर्फ स्थानान्तरण गर्ने गृह मन्त्रालयको प्रस्तावमा अर्थ मन्त्रालयले सहमति दिएको छ। उक्त स्थानान्तरण गृहले प्रस्ताव गरेको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण (ओएण्डएम) अन्तर्गत गरिने भएको हो।
ओएण्डएम अनुसार प्रहरीको केनाइन कार्यालय र सवारी महाशाखामा कार्यरत एसएसपीको दरबन्दी अब जनपद समूहतर्फ स्थानान्तरण हुनेछ। त्यस्तै, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा कार्यरत प्रहरी कर्मचारीलाई पनि त्यहाँबाट स्थानान्तरण गर्ने सहमति अर्थ मन्त्रालयले दिएको गृह मन्त्रालयका एक उच्च अधिकृतले जानकारी दिए।
अर्को प्रस्तावअनुसार, प्रहरी अस्पतालमा अन्य तहको दरबन्दी कटौती गरेर डीएसपी र एसपीको दरबन्दी वृद्धि गर्ने विषयमा पनि अर्थ मन्त्रालयले सहमति दिएको छ। नयाँ ओएण्डएम अनुसार अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत प्रहरी फरेन्सिक विज्ञलाई प्रहरी प्रधान कार्यालयमा ल्याउने प्रक्रिया अघि बढाइँदैछ।
ओएण्डएम गर्न गृह मन्त्रालयको प्रशासन महाशाखाका सहसचिव काली प्रसाद पराजुलीको संयोजकत्वमा समिति गठन गरिएको थियो। समितिमा प्रहरी प्रधान कार्यालयका डीआईजी दीपक रेग्मी, अर्थ मन्त्रालय र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रतिनिधि सदस्य रहेका थिए।
मन्त्रिपरिषद्ले मङ्सिर ८ मा बसेको बैठकमा प्रहरीको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण गर्न पूर्वस्वीकृति दिने निर्णय गरेको थियो।