शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

निर्माणाधीन ज्येष्ठ नागरिक भवनमा अनियमितताः विशेष अदालतमा मुद्दा दायर

शुक्रबार, पुष १८ २०८२

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्वत जिल्लाको कुश्मा नगरपालिका–७, खरेहामा निर्माणाधीन ज्येष्ठ नागरिक भवनमा १ करोड १३ लाख ४४ हजार रुपैयाँभन्दा बढीको हिनामिना भएको ठहर गर्दै विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरेको छ।

आयोगका अनुसार आर्थिक वर्ष २०७८/७९ मा संघीय सरकारको विशेष अनुदान कार्यक्रमअन्तर्गत उक्त भवन निर्माणका लागि १ करोड ६६ लाख रुपैयाँ विनियोजन गरिएको थियो। कुश्मा नगरपालिकाले लागत अनुमान तयार गरी मल्ल कन्स्ट्रक्सन एण्ड सप्लायर्ससँग २०७८ मंसिर ७ गते ९६ लाख ३० हजार रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो। तर, ठेकेदारले तोकिएको समयसीमाभित्र काम सम्पन्न नगरेको, काम नै अघि नबढाएको र गरेको काम गुणस्तरहीन रहेको आयोगले दाबी गरेको छ।

अनुसन्धानबाट ठेकेदारलाई दुईपटक गरी २१ लाख ७६ हजार रुपैयाँ पेश्की भुक्तानी गरिए पनि काम सम्पन्न नभएपछि पेश्की फर्छ्यौट नगरेको, बैंक जमानत समयमै जफत नगरी म्याद थप गरिएको र पहिलो बिलभन्दा बढी १२ लाख ५६ हजार रुपैयाँभन्दा बढी भुक्तानी गरिएको खुलेको छ। यसले सार्वजनिक खरिद नियमावली उल्लङ्घन गरी सरकारी रकमको दुरुपयोग भएको आयोगले जनाएको छ।

त्यसैगरी, पुरानो ठेक्का सम्झौता विधिवत अन्त्य नगरी नयाँ ठेक्का प्रक्रिया अघि बढाइएको, काम सम्पन्न नभएमा असुल गर्नुपर्ने रकम असुल नगरेको र निर्माण व्यवसायीलाई कालोसूचीमा राख्ने कानुनी प्रक्रिया अपनाइनु पर्नेमा त्यसो नगरी दोहोरो दायित्व सिर्जना गरिएको आयोगको निष्कर्ष छ। यी सबै कार्यबाट कुल १ करोड १३ लाख ४४ हजार २१६ रुपैयाँ ८६ पैसाको सरकारी सम्पत्तिमा हानी पुगेको ठहर गरिएको छ।