शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

बासुदेव घिमिरेलाई विष्णु पौडेलले एमालेमै रोके

शुक्रबार, पुष १८ २०८२

काठमाडौं । नेकपा एमाले छाडेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) जाने तयारीमा रहेका बासुदेव घिमिरेलाई पार्टी उपाध्यक्ष विष्णु पौडेलले रोक्न सफल भएका छन्।

पूर्व अर्थमन्त्रीसमेत रहेका उपाध्यक्ष पौडेल बिहीबार बुटवल पुगेर घिमिरेसँग तिलोत्तमा नगरपालिका–शंकरनगरमा छलफलमा बसेका थिए।

छलफलपछि पौडेलले घिमिरेसँगको फोटो सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक गर्दै ‘हामी सँगै छौँ’ लेखेका छन्। उक्त भेटघाटपछि घिमिरेले तत्काल एमाले छाडेर अन्यत्र नजाने निष्कर्ष निकालेका छन्।

छलफलमा सहभागी एक नेताका अनुसार, पार्टीबाट अलग भएको घोषणा गरेका घिमिरेलाई पौडेलको पहलमा एमालेमै रहने निचोडमा पुर्‍याइएको हो। ‘पौडेलले आग्रह गरेपछि घिमिरे एमालेमै सक्रिय रहने निष्कर्षमा पुग्नुभएको हो,’ ती नेताले बताए।

रुपन्देही क्षेत्र नम्बर ५ बाट निर्वाचित सांसद तथा तिलोत्तमा नगरपालिकाका पूर्व मेयरसमेत रहेका घिमिरे एमाले छाड्न लागेको खबरपछि जिल्लाको राजनीतिमा तरङ्ग आएको थियो। तर, विष्णु पौडेलको पहलपछि घिमिरे एमालेमै रहने निश्चित भएको नेताहरूले बताएका छन्।