काठमाडौँ । रुसी महासङ्घका विदेशमन्त्री सर्गेई लावरोभले परराष्ट्रमन्त्रीमा बालानन्द शर्मा नियुक्त भएकामा हार्दिक बधाई ज्ञापन गरेका छन्।
बुधबार पठाइएको बधाई सन्देशमार्फत रुसी विदेशमन्त्री लावरोभले रुस र नेपालबीचको सम्बन्ध परम्परागत रूपमा मैत्रीपूर्ण र रचनात्मक रहँदै आएको उल्लेख गरेका छन्।
उनले दुवै देशका जनताको हितमा द्विपक्षीय सहकार्यलाई थप सुदृढ बनाउँदै संयुक्त रूपमा अघि बढ्न आफू तयार रहेको समेत स्पष्ट गरे ।
परराष्ट्रमन्त्री शर्माको सुस्वास्थ्यको कामना गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरिएको उक्त सन्देश यहाँस्थित रुसी राजदूतावासले सार्वजनिक गरेको हो।