काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आवश्यक सामग्री ढुवानी गर्न सेवा प्रदान गर्न इच्छुक फर्म तथा कम्पनीलाई निर्वाचन आयोगले आवेदन दिन आग्रह गरेको छ।
निर्वाचन सामग्री ढुवानीका लागि हेलिकप्टर, ट्रक तथा कन्टेनर प्रयोग गरिने आयोगले जनाएको छ। साथै, ढुवानीका लागि कुरियर सेवा सञ्चालन गर्ने फर्म वा कम्पनीलाई सूचीकृत हुन आह्वान गरिएको छ।
आयोगका अनुसार सूचीकृत हुन चाहने फर्म वा कम्पनीले आवश्यक शर्त पूरा गरी आवेदन दिनुपर्नेछ। त्यसका लागि सम्बन्धित निकायबाट सेवा सञ्चालनका लागि प्राप्त इजाजतपत्र, मूल्यअभिवृद्धिकर (भ्याट) दर्ता प्रमाणपत्र, आर्थिक वर्ष २०८१/८२ सम्मको करचुक्ता प्रमाणपत्र तथा विगत तीन आर्थिक वर्षको कारोबार विवरण खुल्ने प्रमाणपत्रको प्रतिलिपि पेस गर्नुपर्नेछ।
हेलिकप्टर भाडामा लिनका लागि पछिल्लो तीन आर्थिक वर्षको न्यूनतम औसत वार्षिक कारोबार रकम तीन करोड रुपैयाँ बराबरको हुनुपर्नेछ। ट्रक तथा कन्टेनर सेवाका लागि एक करोड रुपैयाँ र कुरियर सेवाका लागि न्यूनतम ३० लाख रुपैयाँ बराबरको कारोबार विवरण आवश्यक पर्ने आयोगले स्पष्ट पारेको छ।
कुरियर सेवा प्रदान गर्न इच्छुक कम्पनीले आफ्नो कार्यालय तथा प्रतिनिधि ७७ वटै जिल्लामा रहेको विवरण, टेलिफोन तथा मोबाइल नम्बर सहित निवेदन पेस गर्नुपर्नेछ।
एकभन्दा बढी समूहमा सूचीकृत हुने गरी निवेदन दिएमा त्यस्ता निवेदनमाथि कारबाही नहुने आयोगले जनाएको छ। सेवा प्रदायक फर्म वा कम्पनीलाई सूचीकृत गर्ने वा नगर्ने सम्पूर्ण अधिकार आयोगमै निहित रहने पनि आयोगले स्पष्ट गरेको छ।