काठमाडौँ । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक प्रणालीअन्तर्गत पेस भएका बन्दसूचीमा देखिएका त्रुटि सच्याउन राजनीतिक दलका प्रतिनिधिसँग छलफल गरिरहेको छ। आयोगका अनुसार सूचीको जाँचबुझ र प्रतिनिधिसँगको परामर्शपछि देखिएका कमजोरी सच्याएर पेस गर्न पुस २० गते औपचारिक पत्राचार गरिनेछ।
आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले समावेशी समूह (क्लस्टर) मिलान भए/नभएकोलगायत विवरण जाँच गरी दलका प्रतिनिधिलाई बोलाएर छलफल भइरहेको जानकारी दिए। उनका अनुसार बुधबार १२ दलसँग छलफल भएको छ भने आज पनि थप १२ दलसँग छलफल गर्ने तालिका छ।
आयोगमा पुस १३ र १४ गते ६४ राजनीतिक दलले बन्दसूची पेस गरेका थिए। तीमध्ये २२ दलले मात्र ११० वटै स्थानमा उम्मेदवारी दिएका छन्। औसतमा प्रति निर्वाचन चिह्न ६० दलले उम्मेदवारी दिएको देखिएको छ भने न्यूनतम ११ स्थानमा बन्दसूची पेस गर्ने दल १० छन्। एकल चिह्न लिने दलको सङ्ख्या पनि १० रहेको आयोगले जनाएको छ।
यद्यपि ९३ राजनीतिक दलले यस प्रणालीमा उम्मेदवारीका लागि आवेदन दिएका थिए, बन्दसूची पेस गर्ने दल ६४ मात्र भएका छन्। आयोगले पुस २१ देखि २७ गतेसम्म विवरण मिलाउन समय दिनेछ। त्यसपछि पुस २८ देखि माघ ३ गतेसम्म जाँच गरी माघ २० गते अन्तिम सूची प्रकाशन गरिने सहायक प्रवक्ता जिसीले जानकारी दिए।
समानुपातिक प्रणालीको निर्वाचन व्यवस्थापनका लागि आयोगमा स्थापित निर्वाचन अधिकृतको कार्यालयमा तथ्याङ्क, प्रविधि र कानुनी क्षेत्रका विज्ञहरू कार्यरत रहेका छन्।