बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

करिब छ महिनापछि रसुवागढी नाका पूर्ण रूपमा सञ्चालनमा

बिहिबार, पुष १७ २०८२

रसुवा । नेपालको उत्तरी सीमा नाका रसुवागढी अन्तरराष्ट्रिय नाका आजदेखि पूर्ण रूपमा सञ्चालनमा आएको छ। गत असार २४ गते ल्हेन्देखोलामा आएको बाढीले मितेरी पुल बगाएपछि बन्द रहेको नाका करिब छ महिनापछि पुनः खुला भएको हो।

रसुवाका प्रमुख जिल्ला अधिकारी राजेश पन्थीका अनुसार चीन सरकारले ९१ मिटर लामो बेलिब्रिज निर्माण गरेपछि आज बिहानदेखि सवारीसाधन सञ्चालन सम्भव भएको हो। पुलको भारवहन क्षमता ५५ टन रहेको छ।

नाका खुलेसँगै चिनियाँ सामान आयातका लागि आठवटा नेपाली कन्टेनर मितेरी पुल पार गरी केरूङतर्फ प्रस्थान गरिसकेको सीमा प्रहरीचौकी टिमुरेका प्रहरी निरीक्षक विक्रम कुँवरले जानकारी दिए। थप सवारीसाधन पनि आवत–जावतका लागि तयारी अवस्थामा छन्।

प्रमुख भन्सार अधिकृत तुलसीप्रसाद भट्टराईका अनुसार नाका बन्द रहँदा चालु आर्थिक वर्षमा मात्रै सामान आयातबाट सङ्कलन हुने राजस्वमा रु २२ अर्बभन्दा बढी नोक्सानी भइसकेको छ।

यता, स्याफ्रुबेँसी–रसुवागढी सडक खण्ड जीर्ण अवस्थामा रहेकाले मालवाहक सवारी सञ्चालनमा कठिनाइ देखिएको छ। सवारी चालक रसुवा यार्साका सुकु तामाङले सडकको अवस्था सुधार गर्दै सम्भावित दुर्घटना न्यूनीकरणका लागि सम्बन्धित निकायलाई विशेष ध्यान दिन आग्रह गर्नुभएको छ।

गत बाढीले सडकका दर्जनौँ स्थानमा कटान गरेपछि गल्छी–रसुवागढी सडक सुधार आयोजनाले मर्मत गरी ट्र्याक मात्र खोलेको थियो। टेवा पर्खाल पर्याप्त मजबुत नहुँदा सवारी सञ्चालन जोखिमपूर्ण बन्दै गएको चालकहरूको गुनासो छ।