बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

दुई राप्रपाबीच पुनः एकता, राजावादी तथा राष्ट्रवादी धारलाई थप सुदृढ बनाउने दाबी

बिहिबार, पुष १७ २०८२

काठमाडौँ । मुलुकका प्रमुख दुई राजावादी दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालबीच पुनः पार्टी एकता भएको छ। राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपा र कमल थापा नेतृत्वको राप्रपा नेपालबीच एकीकरण भएसँगै राजावादी तथा राष्ट्रवादी शक्तिहरू एकीकृत भएका हुन्।

बुधबार काठमाडौंमा आयोजित एकता घोषणासभामा दुवै पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन र कमल थापाले संयुक्त रूपमा एकता घोषणापत्र सार्वजनिक गरे। यसअघि पुस ९ गते धुम्बाराहीस्थित राप्रपा केन्द्रीय कार्यालयमा दुवै नेताले एकता समझदारीपत्रमा हस्ताक्षर गरेका थिए । २०७८ सालको राप्रपा महाधिवेशनमा अध्यक्ष पदमा पराजित भएपछि कमल थापाले पार्टी छोडेर राप्रपा नेपाल गठन गरेका थिए ।

एकता समझदारीअनुसार पार्टीको अध्यक्ष राजेन्द्र लिङ्देन नै रहने, पार्टीको विधान, झण्डा र चुनाव चिह्न ‘हलो’ कायम रहने उल्लेख छ। सहमतिपत्रमा कमल थापाको औपचारिक भूमिकाबारे भने स्पष्ट उल्लेख गरिएको छैन।

सहमतिको पहिलो बुँदामा २०७८ साल मंसिरमा सम्पन्न राप्रपाको एकता महाधिवेशनबाट पारित सम्बर्धनवादको वैचारिक दर्शनलाई एकीकृत पार्टीको मार्गदर्शनका रूपमा लिइने उल्लेख छ। यसअन्तर्गत सबै धर्मबीच समानता र पूर्ण धार्मिक स्वतन्त्रतासहितको सनातन धर्मसापेक्ष हिन्दू अधिराज्य, राजसंस्थासहितको लोकतन्त्र, सुदृढ स्थानीय स्वायत्त शासन, उदार अर्थतन्त्र र असंलग्न परराष्ट्र नीति समेटिएको छ।

सहमतिको अर्को बुँदाअनुसार २०७८ को महाधिवेशनबाट निर्वाचित भई हाल राप्रपा नेपालमा रहेका केन्द्रीय सदस्यहरू एकीकृत पार्टीमा सोही पदमा कायम रहनेछन्। राप्रपा नेपालका अन्य पदाधिकारी तथा सदस्यहरूलाई सहमतिको आधारमा केन्द्रीय कार्यसमितिमा समावेश गरिनेछ। जिल्ला तथा स्थानीय तहका संरचनाहरू पनि सम्मानजनक ढंगले समायोजन गरिने उल्लेख छ।

एकता घोषणासभालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले कमल थापा पार्टीमा नहुँदा आफूलाई राप्रपा अपूर्ण जस्तो लागिरहेको बताए । “आज त्यो रिक्तता पूरा भएको छ। सबैभन्दा बढी म खुसी छु,” उनले भने। पार्टी कसैले एक्लै चलाउन नसक्ने भन्दै सबैलाई मिलाएर अघि बढाउने जिम्मेवारी आफूले लिने पनि उनको भनाइ थियो।

यता कमल थापाले राजसंस्था र हिन्दूराष्ट्रको एजेण्डासँगै देश नै संकटमा रहेकाले निःस्वार्थ भावनाले पार्टी एकता गरेको बताए। “यो एकता होइन, पुनर्मिलन हो। घर फर्किएको अनुभूति भइरहेको छ,” उनले भने ।

थापाले जेन–जी आन्दोलनका क्रममा भदौ २४ गते राति प्रमुख राजनीतिक दलका दुई नेताले फोन गरेर देश जोगाउन राजा ल्याउनुपर्ने प्रस्ताव गरेको दाबीसमेत गरे, यद्यपि उहाँले ती नेताको नाम खुलाएनन् ।

राप्रपाको ३५ वर्षे इतिहासमा पटक–पटक विभाजन र एकता हुँदै आएको छ। हालसम्म पार्टी छ पटक विभाजन र सात पटक एकता भइसकेको छ। नेतृत्व विवाद, सत्ता स्वार्थ र वैचारिक मतभेदका कारण राप्रपामा फुट–जुटको परम्परा रहँदै आएको छ।

यसपटकको एकताले राजावादी तथा राष्ट्रवादी धारलाई थप सुदृढ बनाउने दुवै पक्षको दाबी छ।