काठमाडौँ । ‘नेपाली टोपीः हाम्रो पहिचान’ भन्ने नाराका साथ आज १३औँ राष्ट्रिय पोसाक एवं टोपी दिवस विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ।
विगत १३ वर्षदेखि विभिन्न युवा संस्थाहरूको पहलमा मनाइँदै आएको यस दिवसको उद्देश्य नेपाली पहिचानका प्रतीक दौरा–सुरुवाल, टोपी र गुन्यु–चोलीलाई युवामाझ स्थापित गर्नु हो। विसं २०७० देखि हरेक वर्ष जनवरी १ तारिखका दिन राष्ट्रिय पोसाक एवं टोपी दिवस मनाउन थालिएको हो।
दिवसका अवसरमा धेरैले राष्ट्रिय पोसाक लगाएका तस्बिर सामाजिक सञ्जालमा पोस्ट गर्दै आफ्नो सांस्कृतिक पहिचानप्रति गौरव व्यक्त गरेका छन्। यस अभियानले राष्ट्रिय पोसाकको पुनर्जागरणमा उल्लेखनीय टेवा पुगेको बताइन्छ।
विगतमा औपचारिक रूपमा राष्ट्रिय पोसाक मनाउने प्रचलन हटाइएपछि युवाहरूको स्वस्फूर्त पहलमा यो अभियान सुरु भएको हो। यस अवसरमा आज राजधानी काठमाडौँका विभिन्न स्थानमा विशेष कार्यक्रमहरू आयोजना गरिएका छन्।