शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

तराईमा हुस्सु, उच्च पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

बिहिबार, पुष १७ २०८२

काठमाडाैं । देशभर हाल पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेकाले तराई भू–भागका अधिकांश स्थानमा हुस्सु तथा कुहिरो लागेको छ भने केही प्रदेशमा आंशिक बदली देखिएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहेको छ। लुम्बिनी प्रदेशसहित कर्णाली, सुदूरपश्चिम तथा बाँकी उच्च पहाडी र हिमाली भू–भागमा पनि आंशिक बदली हुने अनुमान गरिएको छ।

यसैगरी, कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको महाशाखाले पूर्वानुमान गरेको छ।

आज राति पनि तराईका केही स्थानमा हुस्सु कायमै रहनेछ। कर्णाली र सुदूरपश्चिम प्रदेशसहित उच्च पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली रहने र बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने अनुमान छ। राति पनि कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिमका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का वर्षा वा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ।

महाशाखाले तराई क्षेत्रमा हुस्सुको प्रभावका कारण दैनिक जनजीवन, स्वास्थ्य तथा सडक यातायातमा आंशिक असर पर्न सक्ने चेतावनी दिँदै आवश्यक सतर्कता अपनाउन र नियमित रूपमा जारी हुने अद्यावधिक मौसमी सूचनामा ध्यान दिन सर्वसाधारणलाई आग्रह गरेको छ।