काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि विभिन्न राजनीतिक दलहरुले समानुपातिकतर्फको बन्दसूची निर्वाचन आयोगमा पेस गरेका छन् ।
निर्वाचन आयोगका अनुसार कुल ६४ वटा राजनीतिक दलले समानुपातिकतर्फ बन्दसूची बुझाएका छन् । तीमध्ये ५४ वटा दलले आ–आफ्नै निर्वाचन चिन्हमा र १० वटा राजनीतिक दलले चार वटा एकल निर्वाचन चिन्हमा चुनावमा भाग लिने गरी बन्दसूची पेस गरेका हुन् ।
नेपालको संविधानअनुसार प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचन प्रणालीबाट १६५ जना र समानुपातिक निर्वाचन प्रणालीबाट ११० जना सदस्य निर्वाचित हुने व्यवस्था छ ।
यसैबीच, निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका उम्मेदवारले पेस गर्नुपर्ने कागजपत्रको सूची सार्वजनिक गरेको छ । आयोगका अनुसार उम्मेदवारले नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, मतदाता नामावली ऐन, २०७३ बमोजिम कुनै गाउँपालिका वा नगरपालिकाको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको निस्सा पेस गर्नुपर्नेछ ।
त्यसैगरी रु १० हजार धरौटी जम्मा गरेको रसिद वा भौचर अनिवार्य गरिएको छ । महिला, दलित, अल्पसङ्ख्यक समुदाय तथा आर्थिक रूपमा विपन्न उम्मेदवारको हकमा धरौटी रकममा ५० प्रतिशत छुट दिइने आयोगले जनाएको छ । आर्थिक रूपमा विपन्न उम्मेदवारका लागि भने स्थानीय तहको सिफारिस पत्र आवश्यक हुनेछ ।
उम्मेदवारले मतदाता नम्बर, सम्पत्ति विवरण, घर सङ्ख्या र स्थान, जग्गाको विवरण, सङ्घीय कानुनबमोजिम अयोग्य नभएको स्वघोषणापत्र, लाभको पदमा नरहेको स्वघोषणा, जिम्मेवारी वा निर्वाचित पदमा रहेकाले राजीनामा दिएको निस्सा तथा मनोनयनपत्र पनि पेस गर्नुपर्नेछ । मनोनयनपत्र उम्मेदवार स्वयं वा निजका प्रतिनिधि, प्रस्तावक वा समर्थकबाट सहीछाप गरिएको हुनुपर्ने व्यवस्था गरिएको छ ।
यस्तै, २०७९ सालको प्रदेशसभा सदस्य समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूचीमा नाम रहेकाले फिर्ता लिएको कागजातसमेत पेस गर्नुपर्नेछ । प्रस्तावक र समर्थकको नाम सम्बन्धित प्रदेशसभा सदस्य वा सम्बन्धित प्रदेशभित्रका गाउँपालिका अध्यक्ष–उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख–उपप्रमुख समावेश भएको निर्वाचक मण्डलको मतदाता नामावलीमा नाम दर्ता भएको हुनुपर्ने आयोगले स्पष्ट पारेको छ ।
आयोगले निर्वाचन तयारीस्वरूप सातै प्रदेशमा निर्वाचन अधिकृत तोकिसकेको र निर्वाचन कार्यालयसमेत सञ्चालनमा ल्याइसकेको जनाएको छ । उता राजनीतिक दलहरुले पनि उम्मेदवार छनोटका लागि प्रारम्भिक तयारी तीव्र पारेका छन् ।