काठमाडौँ । प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाले राष्ट्रियताको रक्षा र देशको हितका लागि जीवन अर्पण गर्न तयार हुँदै अघि सारेको राष्ट्रिय एकता तथा मेलमिलापको नीति सम्झनामा आज मेलमिलाप दिवस मनाइँदैछ ।
आफूमाथि आठ वटा मृत्युदण्डका मुद्दा अदालतमा विचाराधीन रहेका कठिन परिस्थितिका बाबजुद बिपी कोइरालाले विसं २०३३ पुस १६ गते राष्ट्रिय एकता र मेलमिलापको नीति लिएर स्वदेश फर्कने ऐतिहासिक निर्णय गरेका थिए । नेपाली कांग्रेसका संस्थापक नेतासमेत रहेका कोइरालाको नेतृत्वमा सर्वोच्च नेता गणेशमान सिंह, नेतृ शैलजा आचार्य, खुमबहादुर खड्का, रामबाबु प्रसाईं, नीलाम्बर पन्थीलगायत नेताहरु तथा कार्यकर्ता करिब आठ वर्ष लामो निर्वासित जीवन त्यागेर नेपाल फर्किएका थिए ।
भारत निर्वासनका क्रममा सिक्किम भारतमा विलय भएको, भारत–पाकिस्तान विभाजन तथा एसियाली क्षेत्रमा बढ्दो विखण्डनका घटनालाई नजिकबाट अवलोकन गरेका कोइरालालगायत नेताले नेपालको राष्ट्रियता कमजोर हुन नदिन मेलमिलाप र एकताको नीति अपरिहार्य ठानेका थिए । यही सोचका आधारमा आजभन्दा ४९ वर्षअघि उनीहरु स्वदेश फर्किएका हुन् ।
विसं २०१७ पुस १ गते तत्कालीन राजा महेन्द्रको शाही ‘कु’ पछि बिपी कोइरालालाई करिब तीन महिना सिंहदरबारमा बन्दी बनाइएको थियो । त्यसपछि विसं २०१७ फागुन २६ गते उनलाई सुन्दरीजलस्थित बन्दी गृहमा सारिएको थियो । आठ वर्षपछि विसं २०२५ सालमा उपचारका लागि रिहा गरिएका कोइरालाले भारतमा रहँदै निरङ्कुश पञ्चायती व्यवस्थाविरुद्ध राजनीतिक गतिविधि सञ्चालन गरेका थिए ।
स्वदेश फर्कँदा त्रिभुवन विमानस्थलमै पक्राउ परेका बिपी कोइराला र गणेशमान सिंहलगायत नेताहरुलाई पुनः सुन्दरीजल बन्दी गृहमा थुनिएको थियो । विसं २०३४ जेठ २७ गते उपचारपछि पुनः कारागार फर्कने शर्तमा कोइरालालाई रिहा गरिएको थियो । पछि उनलाई महाराजगञ्जस्थित प्रहरी तालिम केन्द्रमा समेत बन्दी बनाइएको थियो ।
२४ रोपनी क्षेत्रफलमा फैलिएको सुन्दरीजल बन्दी गृहलाई विसं २०६१ भदौ २४ गते बिपी सङ्ग्रहालयमा रूपान्तरण गरिएको छ, जहाँ आज पनि बिपी कोइरालाको संघर्ष, विचार र राष्ट्रिय मेलमिलापको नीति स्मरण गरिन्छ ।