काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले मुलुकमा शान्ति, अमनचयन र राजनीतिक स्थिरता कायम गर्दै दिगो लोकतन्त्र स्थापना गर्ने एक मात्र माध्यम निर्वाचन भएको बताएकी छन् ।
बालुवाटारमा आज राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊ अभियानका अगुवा दुर्गा प्रसाईंसँग भएको भेटमा प्रधानमन्त्री कार्कीले आम जनताको उल्लेख्य सहभागितामा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गरिनुपर्नेमा जोड दिइन् ।
प्रधानमन्त्रीले अभियन्ता प्रसाईंद्वारा उठाइएका कैयौँ माग जनताको हितसँग जोडिएका उल्लेख गर्दै तिनको सम्बोधनका लागि सरकारले आवश्यक गृहकार्य गरिरहेको स्पष्ट पारिन्। उनले आफ्ना असन्तुष्टि र माग–मुद्दाहरू शान्तिपूर्ण ढंगले प्रस्तुत गर्न आग्रह गरिन् ।
देश राजनीतिक अस्थिरता, अन्योल र अशान्तिको अवस्थाबाट गुज्रिरहेको सन्दर्भ उल्लेख गर्दै प्रधानमन्त्री कार्कीले त्यसबाट निकास पाउन प्रतिनिधिसभा निर्वाचन अनिवार्य भएको बताइन् । साथै, निर्वाचन सफल बनाउन राष्ट्रव्यापी अभियानमा साथ दिन अभियन्ता प्रसाईंसँग आग्रह गरिन् ।
मुलुक निर्वाचन प्रक्रियामा होमिइसकेको उल्लेख गर्दै उनले जनताबाट आफ्ना मुद्दा अनुमोदन गराउनु नै लोकतान्त्रिक निकासको एक मात्र विकल्प भएको स्पष्ट पारिन् ।
प्रधानमन्त्री कार्कीले भनिन्, “धेरै अप्ठ्यारो अवस्थाबाट देशलाई यहाँसम्म ल्याएका छौँ। तोकिएको मितिमा निर्वाचन सम्पन्न गराएर मुलुकलाई राजनीतिक निकास दिन सरकार अहोरात्र खटिएको छ। सबै किसिमका संशय चिर्दै देश निर्वाचनको माहोलमा प्रवेश गरिसकेको छ। यो देश मेरो पनि हो भन्ने भावनाका साथ सबै पक्ष जिम्मेवार बनौँ र सक्रिय रूपमा सहभागी भई निर्वाचन सफल बनाऔँ।”
उनले सरकार सत्ताभोगका लागि नभई न्याय र सुशासनका पक्षमा उभिएको स्पष्ट गर्दै भ्रष्टाचार अन्त्य र शोषित–पीडित वर्गलाई न्याय दिलाउने प्रक्रियाको थालनी गरिएको बताइन्। तत्काल सबै नतिजा नदेखिए पनि आवश्यक आधारशिला तयार गरिएको र उठाइएका कतिपय माग–मुद्दा सम्बोधन गर्न सरकार प्रतिबद्ध रहेको उनको भनाइ थियो।
सो अवसरमा प्रधानमन्त्री कार्कीले शान्ति कायम राख्ने अभियानमा सहकार्यका लागि आग्रह गर्दै अभियन्ता प्रसाईंसलाई शान्तिको प्रतीक भगवान् गौतम बुद्धको तस्बिर उपहार दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।