काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले तमु ल्होसार पर्वले सबै नेपालीबीच सहिष्णुता, आपसी सद्भाव र बन्धुत्वको भावना अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरेका छन् ।
गुरुङ समुदायको महान् पर्व ‘तमु ल्होसार’ का अवसरमा आज शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति पौडेलले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र सुस्वास्थ्यको कामना गरे।
शुभकामना सन्देशमा उनले भनेका छन्, “गुरुङ समुदायको प्राचीन पात्रो प्रणाली र जीवनशैलीसँग सम्बन्धित यस पर्वले बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक विविधतायुक्त नेपाली समाजमा जातीय सद्भाव, विविधताको सम्मान र राष्ट्रिय एकता प्रवर्द्धन गर्न योगदान पुर्याउँछ। यसले सबै नेपालीबीच सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि गर्न मद्दत पुग्नेछ भन्ने विश्वास लिएको छु।”
नेपालका हिमाली तथा उच्च पहाडी भेगमा बसोबास गर्ने गुरुङ समुदायले तमु ल्होसारलाई नयाँ वर्षको सुरुआतका रूपमा हर्षोल्लासका साथ मनाउने परम्परा रहेको उल्लेख गर्दै राष्ट्रपति पौडेलले यस पर्वले आपसी विश्वास र एकताको भावनालाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरेका छन् ।
सन्देशमा उनले तमु ल्होसार पर्वले आर्थिक, सामाजिक र सांस्कृतिक रूपमा समृद्ध मुलुक निर्माणतर्फ अग्रसर भई प्रगतिपथमा अघि बढ्न सबैलाई नयाँ ऊर्जा प्रदान गरोस् भन्ने कामना पनि गरे।