शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

एलपी ग्यास ट्याङ्कर दुर्घटना हुँदा पूर्व–पश्चिम महेन्द्र राजमार्ग अवरुद्ध

मंगलबार, पुष १५ २०८२

 रौतहट । पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत रौतहटको चन्द्रनिगाहपुर–धन्सार सडकखण्डको लमाह पुल नजिक आज बिहान एलपी ग्यास बोकेको ट्याङ्कर दुर्घटनामा परेपछि राजमार्ग अवरुद्ध भएको छ।

भारतको रक्सौलबाट एलपी ग्यास बोकेर धनुषाको महेन्द्रनगरतर्फ जाँदै गरेको यूपी १७ एटी २११४ नम्बरको ट्याङ्कर आज बिहान दुर्घटना भएको हो। दुर्घटनामा ट्याङ्कर चालक भारतको कदोरा जिल्ला जयनगर थाना निवासी ३५ वर्षीय पवन यादव घाइते भएका छन्। घाइते चालकको चन्द्रनिगाहपुरस्थित सिभिल अस्पतालमा उपचार भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटका प्रमुख राजेन्द्र थापामगरले जानकारी दिए ।

हाल पूर्वबाट आएका सवारीसाधन चन्द्रनिगाहपुरस्थित जिल्ला ट्राफिक प्रहरी कार्यालय अगाडि र पश्चिमतर्फबाट आएका सवारीसाधन धन्सार पुल नजिकै रोकिएका छन्। ट्याङ्कर बीच सडकमा दुर्घटना भई ग्यास लिक भइरहेकाले थप जोखिम बढेको जनाइएको छ।

दुर्घटनाग्रस्त ट्याङ्कर हटाउनका लागि जनकपुरबाट ग्यास कम्पनीका प्राविधिकसहितको टोली घटनास्थलतर्फ आउँदै गरेको ट्राफिक प्रहरी प्रमुख थापामगरले बताए। राजमार्ग खुलाउन आवश्यक सुरक्षाका उपाय अपनाइँदैछ।