बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

रेणु यादव र प्रदीप यादव जसपा नेपालमा फर्किए

सोमबार, पुष १४ २०८२

काठमाडौँ । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव र जनता समाजवादी पार्टीका सहअध्यक्ष रेणु यादव पक्षबीच पार्टी एकताको सहमति भएको छ । आज दुवै पक्षबीच एकताको सहमतिमा औपचारिक रूपमा हस्ताक्षरसमेत गरिएको छ ।

यसअघि आइतबार तराई मधेस लोकतान्त्रिक पार्टी र जनता समाजवादी पार्टी नेपालबीच पनि एकताको सहमति भएको थियो ।

विगतमा एउटै दलमा रहेका यी नेताहरूले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई ध्यानमा राख्दै मधेस आन्दोलनबाट प्राप्त सङ्घीयता र गणतन्त्रका उपलब्धिको संरक्षण तथा संवर्द्धन गर्दै मधेस र मधेसी जनताको अधिकार सुनिश्चित गर्न पार्टी एकता गर्ने सहमति गरेका हुन् ।

रेणु यादव पक्षका नेता प्रदीप यादवका अनुसार जनता समाजवादी पार्टीका बहुमत केन्द्रीय सदस्य उपेन्द्र यादव नेतृत्वको पुरानै पार्टीमा एकीकृत हुने निर्णय गरिएको हो । बदलिँदो राजनीतिक परिवेशमा जनता समाजवादी पार्टी नेपाल र जनता समाजवादी पार्टीबीचको एकता अपरिहार्य भएकाले मधेसी जनताको चाहना र जनअपेक्षालाई आत्मसात् गर्दै एकताको घोषणा गरिएको उनले भने ।