शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

एमालेले आज निर्वाचन आयोगमा समानुपातिक बन्दसूची बुझाउने

सोमबार, पुष १४ २०८२

काठमाडौं । नेकपा एमालेले निर्वाचन आयोगमा आज समानुपातिकतर्फको बन्दसूची बुझाउने भएको छ ।

आइतबार बसेको पार्टीको सचिवालय बैठकले विभिन्न जिल्ला र प्रदेशबाट प्राप्त सिफारिसका आधारमा तयार पारिएको नामावलीलाई अन्तिम रूप दिँदै आयोगमा दर्ता गर्ने निर्णय गरेको हो ।

बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै पार्टीका उपमहासचिव लेखराज भट्टले अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेकाे नामावलीमा केही सुझावसहित आवश्यक परिमार्जन गरी सोमबार निर्वाचन आयोगमा पेस गरिने जानकारी दिए । पार्टीको ११औँ महाधिवेशनपछि बसेको यो पहिलो सचिवालय बैठक हो ।

बैठकमा अध्यक्ष ओलीले वर्तमान राष्ट्रिय तथा अन्तर्राष्ट्रिय राजनीतिक परिस्थितिबारे ब्रिफिङ गरेकाे उपमहासचिव भट्टले बताए । साथै उनले निर्वाचनका लागि शान्ति सुरक्षाको उपयुक्त वातावरण आवश्यक रहेकोमा जोड दिएका थिए ।

निर्वाचनमा सेना परिचालनसम्बन्धी उठेका भ्रमहरूको खण्डन गर्दै अध्यक्ष ओलीको भनाइ उद्धृत गर्दै भट्टले भने, “सेना बाहिरी घेरामा बस्ने हो, आन्तरिक सुरक्षा र निर्वाचनको वातावरण बनाउने जिम्मेवारी प्रहरी र प्रशासनको हो । त्यसका लागि प्रहरीको मनोबल उच्च हुनुपर्छ ।”

बैठकले निर्वाचनलाई लक्षित गर्दै पार्टीका तल्लो तहका कमिटीहरूलाई सक्रिय बनाउने तथा हरेक बुथमा ‘राष्ट्रिय स्वयंसेवक संघ’ परिचालन गर्ने निर्णयसमेत गरेको छ । संसद् पुनःस्थापना र लोकतान्त्रिक विधि–पद्धतिको रक्षाका लागि एमालेको अडान कायमै रहेको पनि भट्टले स्पष्ट पारे ।

पछिल्लो राजनीतिक घटनाक्रम र अन्य दलहरूसँगको सम्भावित सहकार्यबारे सोधिएको प्रश्नमा उपमहासचिव भट्टले अन्य शक्तिसँगको तालमेल दीर्घकालीन रूपमा कति टिक्छ भन्ने विषय हेर्न बाँकी रहेको टिप्पणी गरे । अब पार्टीको ध्यान पूर्ण रूपमा निर्वाचन तयारी र संगठन सुदृढीकरणमा केन्द्रित हुने उनले बताए ।

यसैबीच, एमालेले प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फका उम्मेदवारको नाम पुस २० गतेभित्र सिफारिस गर्न निर्देशन दिएको छ । आइतबारको सचिवालय बैठकले आगामी पुस २० गतेभित्र निर्वाचन क्षेत्रीय कमिटीमार्फत प्रत्यक्षतर्फका उम्मेदवारको नाम सिफारिस गर्न निर्देश गर्ने निर्णय गरेको सचिव डा. राजन भट्टराईले जानकारी दिए ।