शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

काठमाडौँमा ‘हाम्रो प्रहरी’ अभियान सुरु

सोमबार, पुष १४ २०८२

काठमाडौँ । जिल्ला प्रहरी परिसर काठमाडौँले प्रहरी र समुदायबीचको सम्बन्धलाई अझ सुदृढ बनाउने उद्देश्यसहित आइतबारदेखि ‘हाम्रो प्रहरी’ अभियानको शुभारम्भ गरेको छ ।

बसन्तपुर दरबार क्षेत्रमा आयोजित विशेष समारोहबीच अभियानको उद्घाटन नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले गरेका हुन् । उद्घाटन समारोहमा बोल्दै महानिरीक्षक कार्कीले नेपाल प्रहरीप्रति नागरिकको विश्वास अभिवृद्धि गर्नु नै अभियानको मुख्य उद्देश्य रहेको स्पष्ट पारे ।

उनले रोजगारी, अध्ययन वा अन्य प्रयोजनका लागि विदेश जाने नेपाली युवालाई नकारात्मक छविमा नहेरियोस् भन्ने चाहना व्यक्त गर्दै भने, “अब नेपाली नागरिकलाई सिंहदरबार वा प्रहरी कार्यालय जलाउने, सवारीसाधनमा आगजनी गर्ने व्यक्तिका रूपमा चिनिनु नपरोस् भन्ने हाम्रो चाहना हो । देशमा तोडफोड, आगजनी र अराजक गतिविधिको अन्त्य होस् भन्ने उद्देश्यका साथ यो अभियान अघि बढाइएको हो ।”

‘हाम्रो प्रहरी, राम्रो प्रहरी’ भन्ने नारासहित सञ्चालन गरिएको यस अभियानले देशभित्र शान्ति सुरक्षा मजबुत बनाउनुका साथै अन्तरराष्ट्रियस्तरमा नेपाली नागरिकको सकारात्मक पहिचान स्थापित गर्न सहयोग पुग्ने विश्वास महानिरीक्षक कार्कीले व्यक्त गरे ।

कार्यक्रममा काठमाडौँ महानगरपालिकाकी नगर उपप्रमुख सुनिता डङ्गोलले ‘हाम्रो प्रहरी’ अभियानले प्रहरी र समुदायबीचको सम्बन्धमा नयाँ अध्यायको सुरुवात गरेको बताइन्। उनले कुनै पनि विपद् वा आपत्कालीन अवस्थामा प्रहरी नै नागरिकको पहिलो सम्पर्क बिन्दु बन्ने गरेको उल्लेख गरिन् ।

वडा नं २३ का वडाध्यक्ष मचाराजा महर्जनको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा वरिष्ठ कलाकार हरिवंश आचार्य, नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकाल, नवीन मानन्धरलगायतको उपस्थिति रहेको थियो ।