काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहबीच भएको एकताप्रति आफ्नो धारणा व्यक्त गरेका छन्।
बस्नेतले नेपाली राजनीतिमा नयाँ पात्रलाई सधैं ‘आशा’का रूपमा प्रस्तुत गर्ने प्रवृत्ति दोहोरिँदै आएको र अन्ततः निराशा मात्रै बाँडिने बताए। उनले गगन थापालाई उदाहरण दिँदै भने- अत्यधिक प्रचार पछि उनी बिस्तारै ‘बासी’ बनाइए। त्यसैगरी, चर्चित रवि लामिछाने पनि पुरानै बाटोमा अघि बढिरहेको देखिएको उनको टिप्पणी छ।
उनले बालेन साहको लोकप्रियता उल्लेख गर्दै भने, “तीन वर्षमा एउटा महानगर नै रूपान्तरण गर्न नसक्ने पात्रले अब देश फेर्छ भन्ने भ्रम पनि सकिन थालेको छ। अनुहार फेरिँदैमा देश फेरिँदैन भन्ने तथ्य बारम्बार प्रमाणित भइसकेको छ।”
बस्नेतले बालेनको लोकप्रियता स्वतन्त्र छविसँग गाँसिएको स्मरण गराउँदै विवादित नेतृत्व भएको दलसँग जोडिनासाथ त्यो आकर्षण तीव्र गतिमा घट्ने दाबी गरे।
उनले समस्या नयाँ दलको अस्तित्वमा नभई पुराना दलका विकृतिमा रहेको र समाधान नयाँ दल खोल्नुभन्दा पुराना दललाई परिमार्जन गरी राजनीति सुधार गर्नुमा रहेको स्पष्ट पारे।