चितवन । चितवनको पर्यटकीय शहर सौराहामा जारी १९औँ चितवन हात्ती तथा पर्यटन महोत्सवको आज अन्तिम दिन हात्ती पूजा तथा वनभोजको आयोजना गरी समापन हुँदैछ। महोत्सव अवलोकन गर्न आएका पाहुनाले पछिल्ला दुई दिन सौराहाका होटल पूर्ण रूपमा भरिभराउ भएका थिए भने पर्यटकीय क्षेत्र अत्यधिक चहलपहल भएको थियो।
महोत्सव अवधिभर हात्ती सुन्दरी प्रतियोगिता, डुङ्गा दौड प्रतियोगिता, पेनाल्टी सुटआउट लगायतका विभिन्न मनोरञ्जनात्मक गतिविधि सम्पन्न भएका थिए। साथै स्वदेशी तथा विदेशी पर्यटकको मागअनुसार विश्वप्रसिद्ध हात्ती पोलोको झल्को शनिबार बाघमारा चौरमा प्रस्तुत गरिएको थियो। महोत्सवका संयोजक गुणराज थपलियाका अनुसार खेल पूर्ण रूपमा सञ्चालन नभए पनि यसको झल्कोले दर्शक र पर्यटकलाई उत्साहित तुल्याएको छ।
संयोजक थपलियाले महोत्सवको अन्तिम दिन हात्ती पूजा गरिने जानकारी दिँदै हात्तीलाई भगवान्का रूपमा पूजा गर्ने बताउनुभयो। साथै हात्तीका लागि विशेष वनभोजको व्यवस्था गरिएको छ। “हात्तीको वनभोज बफेट शैलीमा हुनेछ। हात्तीलाई मनपर्ने परिकारहरू राखिनेछन्, जसबाट उनीहरूले आफूलाई मन परेको जति खान पाउनेछन् र रमाइलो महसुस गर्नेछन्,” उनले भने।
हात्तीमाथि कुनै पनि यातना गरिएको आरोपप्रति उनले प्रतिक्रिया दिँदै हात्ती पनि पीडा र खुसी महसुस गर्ने संवेदनशील जीव भएको उल्लेख गर्नुभयो। “हात्तीलाई कसरी पीडा र खुसी हुन्छ भन्ने कुरा हामीलाई थाहा छ। महोत्सवमा कुनै यातनाजन्य गतिविधि गरिएका छैनन्,” उनले स्पष्ट पारे ।
महोत्सव सौराहास्थित बाघमारा चौरमा आयोजित भएको छ। रत्ननगर नगरपालिका संरक्षक र युनाइटेड हात्ती सञ्चालन सहकारी संस्था लिमिटेड सहआयोजक रहेका छन्। सरकारी र निजी क्षेत्रका करिब ८० वटा हात्ती महोत्सवमा सहभागी भएका छन्।