काठमाडौँ । उज्यालो नेपालले आफ्नो पार्टीको अस्तित्व समाप्त हुने गरी कुनै पनि पार्टीसँग एकता नगर्ने निर्णय गरेको छ।
पार्टीको शनिबार बसेको केन्द्रीय समितिको बैठकले नाम, चुनाव चिह्न र पद सबै अरू पार्टीको हुने वा विलय हुने गरी एकता नगर्ने निष्कर्ष निकालेको केन्द्रीय सदस्य किरण विकले जानकारी दिए ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहसँग पार्टी एकताबारे छलफल भइरहेकामा बैठकले उक्त निर्णय गरेको बताइएको छ।
पार्टीका संरक्षक तथा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङ बैठकमा उपस्थित रहँदा पनि वैकल्पिक र अग्रगामी शक्तिहरू मिलेर जानुपर्ने मान्यता राखे पनि कुनै पार्टीमा विलय नहुने निर्णय बैठकले गरेको केन्द्रीय सदस्य विकले जानकारी दिए ।
केन्द्रीय समितिको बैठकले पार्टीको नाम, चुनाव चिह्न, सभापति र प्रधानमन्त्री आफ्नो पार्टीबाट हुनुपर्ने रास्वपाका सभापतिले राखेको प्रस्ताव अस्वीकार गर्दै, आफ्नै पार्टीको नेतृत्वमा चुनावमा आउन वैकल्पिक र अग्रगामी सबै शक्तिलाई आह्वान गर्ने निर्णय गरेको छ।