शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

प्रधानमन्त्रीसँगको छलफल

सुरक्षा भए चुनावमा जान तयार

आइतबार, पुष १३ २०८२

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले मुलुकलाई निर्वाचनमार्फत लोकतान्त्रिक स्थायित्वतर्फ लैजानुपर्ने आवश्यकता औँल्याएकी छन् ।

शनिबार बालुवाटारमा प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताहरूसँग भएको उच्चस्तरीय छलफलमा प्रधानमन्त्री कार्कीले सबै दललाई निर्वाचनमा सहभागी भई चुनाव सफल पार्न आग्रह गरिन् ।

बालुवाटारमा भएको छलफलमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी थिए ।

प्रधानमन्त्री कार्कीले छलफलमा सहभागी भएकोमा तीनै नेताप्रति आभार व्यक्त गर्दै निर्वाचन राष्ट्रको साझा जिम्मेवारी भएको स्पष्ट पारेकी थिइन्। ‘यो घर तपाईँहरूकै हो, म त न्याय क्षेत्रको मान्छे,’ प्रधानमन्त्रीले भनिन्, ‘राष्ट्रपतिज्यूबाट चुनाव गराउने जिम्मेवारी पाएबमोजिम सरकार पूर्ण रूपमा निर्वाचन तयारीमा जुटेको छ।’

उनले प्रशासनिक नियमित काम–कारबाहीबाट आफूलाई अलग राखी निर्वाचनमै केन्द्रित हुन रक्षा बाहेकका सबै मन्त्रालयको जिम्मेवारी अन्य मन्त्रीहरूलाई दिइसकेको जानकारी पनि नेताहरूलाई गराइन्। सरकारको सम्पूर्ण ध्यान चुनावी व्यवस्थापनतर्फ केन्द्रित गरिएको उनको भनाइ थियो।

प्रधानमन्त्री कार्कीले निर्वाचन आयोग र सुरक्षा निकायलाई आवश्यक स्रोत–साधन उपलब्ध गराइसकेको उल्लेख गर्दै सुरक्षाकर्मीहरूको मनोबल उल्लेखनीय रूपमा बढेको दाबी गरिन् ।

‘सुरक्षा संयन्त्र सक्रिय छ, त्यसको प्रभाव तपाईँहरूले पनि महसुस गर्नुभएको होला,’ प्रधानमन्त्रीको ब्रिफिङ उद्धृत गर्दै सचिवालयले जनाएको छ।

छलफलका क्रममा प्रधानमन्त्रीले राष्ट्रको भविष्य, स्थिरता र दिगो लोकतन्त्रलाई केन्द्रमा राखेर कुनै पनि अलमल नगरी सबै दल मिलेर निर्वाचन सफल पार्न आग्रह गरेकी थिइन् । ‘यो सरकारको मात्र होइन, हामी सबैको साझा जिम्मेवारी हो,’ उनले भनिन् ।

प्रधानमन्त्रीको पहलपछि प्रमुख तीन दलका शीर्ष नेताहरूले सरकारले विश्वसनीय सुरक्षा वातावरण सुनिश्चित गरे आगामी निर्वाचनमा सहभागी हुन तयार रहेको सैद्धान्तिक प्रतिबद्धता जनाएका छन्।

बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सबै राजनीतिक दल चुनावमा जान मानसिक रूपमा तयार रहेको बताए ।

‘कांग्रेस रेडी छ, एमाले रेडी छ, अरू दल पनि रेडी छन्,’ देउवाले भने, ‘अब सरकारले निष्पक्ष र सुरक्षित वातावरण बनाउनुपर्छ।’

एमाले अध्यक्ष केपी शर्मा ओलीको भनाइ उद्धृत गर्दै सञ्चारमन्त्री जगदीश खरेलले ‘एमाले चुनावमा जान तयार छ, त्यसका लागि आवश्यक वातावरण सरकारले बनाउनुपर्छ’ भनेकाे जानकारी दिए। माओवादी केन्द्रका संयोजक प्रचण्डले पनि संसद् पुनःस्थापना नभई चुनावमा जाने विषयमा आफूहरू तयार रहेको बताएका थिए ।

प्रधानमन्त्रीले पनि चुनावको वातावरण बनाउने सरकारको प्रतिबद्धता दोहोर्‍याएको नेताहरूले बताएका छन्। तीनै दलका नेताहरूले आगामी फागुन २१ गते तय गरिएको निर्वाचन लोकतान्त्रिक निकासको विकल्प भएको निष्कर्ष निकालेका छन्।

बालुवाटारको छलफलपछि सरकारले एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि तोकिएको स्थानहद हटाउने संकेतसमेत दिएको छ। सञ्चारमन्त्री जगदीश खरेलले चुनावको वातावरण बनाउन आवश्यक परे स्थानहद हटाउन सरकार तयार रहेको जनाए।

‘हाम्रो मुख्य लक्ष्य फागुन २१ को चुनाव हो,’ उनले भने, ‘सुशासन र भ्रष्टाचार नियन्त्रणसँगै चुनावी लक्ष्य प्राप्तिका क्रममा देखिने समस्या र उल्झनलाई समझदारीका साथ समाधान गर्दै अघि बढ्ने सहमति भएको छ।’

बालुवाटारको छलफलले लामो समयदेखि अन्योलमा परेको निर्वाचन प्रक्रियामा सकारात्मक संकेत दिएको विश्लेषकहरूको भनाइ छ। प्रधानमन्त्री सुशीला कार्कीको सक्रियता र प्रमुख दलहरूको प्रतिबद्धताले मुलुक निर्वाचनतर्फ क्रमशः अघि बढ्ने वातावरण निर्माण हुँदै गएको देखिएको छ।