काठमाडौँ । प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्द सूची पेस गर्ने सम्पूर्ण तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ।
आयोगद्वारा सार्वजनिक कार्यतालिकाअनुसार राजनीतिक दलहरूले आज र भोलि (पुस १३ र १४ गते) समानुपातिकतर्फको बन्द सूची आयोगमा पेस गर्नुपर्ने छ। आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले राससलाई जानकारी दिँदै पेस भएका बन्द सूचीको पुस १५ देखि २० गतेसम्म छानबिन गरिने बताउनुभयो।
छानबिनपछि पुस २१ देखि २७ गतेसम्म दललाई सूची मिलाउन लगाइने कार्यतालिका रहेको छ। त्यसपछि पुस २८ गतेदेखि माघ ३ गतेसम्म मिलाइएको बन्द सूची सही भए–नभएको पुनः परीक्षण गरिने आयोगले जनाएको छ। माघ ४ गते बन्द सूची सार्वजनिक गरिनेछ भने माघ २० गते अन्तिम सूची प्रकाशन गरिने प्रवक्ता भट्टराईले जानकारी दिए।
यसपटक सय वटा राजनीतिक दलले ९३ वटा चुनाव चिह्नमार्फत समानुपातिक प्रणालीतर्फ निर्वाचनमा सहभागी हुन दल दर्ता गराएका छन्। समानुपातिक निर्वाचन प्रणालीमा भाग लिन दल दर्ता गराएका राजनीतिक दलहरूले मात्र आज र भोलि उम्मेदवारको बन्द सूची पेस गर्न पाउनेछन्।